दिउँसो ३ बजे बस्ने प्रदेशसभाको विशेष बैठकमार्फत् प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
आगामी नीति तथा कार्यक्रमको मूल केन्द्रबिन्दु कृषिक्षेत्रको आमूल सुधार हुने बताइएको छ । सरकारले आन्तरिक उत्पादन वृद्धि, नयाँ प्रविधिको प्रयोग, निजी क्षेत्रको सहभागिता, बिउ-विजनको सुनिश्चितता, सिंचाइ सुविधा, भण्डारण पूर्वाधार, बजारीकरण र कृषि बीमा लगायतका पक्षलाई एकीकृत गरेर व्यवस्थित कृषि रणनीति ल्याउने तयारी गरेको छ ।
मधेशका युवामाँझ बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न सरकारले रोजगारी सृजनामा प्राथमिकता दिने भएको छ । विदेशमुखी निर्भरता घटाउँदै प्रदेशमै काम गर्न सक्ने वातावरण बनाउने लक्ष्यसहित सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन, अनुदान, कृषिमा नवप्रवर्तनशील लगानीलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिनेछ ।
शिक्षा र स्वास्थ्यलाई गुणस्तर, पहुँच र परिणाममुखी सेवा प्रवाहका आधारमा पुनर्संरचना गर्ने सरकारको योजना छ । शिक्षामा निजी साझेदारीलाई सन्तुलनसाथ विकास, प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार र नयाँ पाठ्यक्रममार्फत् शिक्षालाई सीपसँग जोड्ने तयारी गरिएको छ ।
स्वास्थ्यतर्फ प्राथमिक स्वास्थ्य केन्द्रदेखि प्रादेशिक अस्पतालसम्मको सञ्जाल विस्तार, उपकरण अद्यावधिक, मानव संसाधन व्यवस्थापनमा सुधार तथा डिजिटल सेवा प्रणालीको प्रवद्र्धन जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिने जनाइएको छ ।
नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएपछि प्रदेशसभामा छलफल हुनेछ । सांसदहरूले आफ्ना सल्लाह र सुझाव राख्नेछन् । त्यसपछि सरकार आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा प्रवेश गर्नेछ ।