लुटपाटको क्रममा गोली प्रहार हुँदा सप्तरीमा एक जनाको मृत्यु

जेष्ठ २३, २०८२ |आरएन विश्वास
लुटपाटको क्रममा गोली प्रहार हुँदा सप्तरीमा एक जनाको मृत्यु

सप्तरी । सप्तरीको सुरूंगा नगरपालिका-८ मल्हनमा टोलमा बिहीबार राति लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कान्तलाल चाैधरी छन । करिब राति १२ बजेतिर टोलमा पसेको लुटेराको समूहले लुटपाट सुरू गरेका थिए । साेहीक्रममा प्रतिकार गर्दा चौधरीको लुटेराले गोली हानी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाका अनुसार चाैधरीमाथि गोली प्रहारसँगै धारिलो हतियारले समेत आक्रमण गरिएको छ । घटनास्थलबाट एकवटा गोलीको खोका र तीनवटा गोली बरामद भएको जानकारी उहाँले दिनुभयो ।

यस्तै साेही घटनामा मृतक कान्तलालका ४० वर्षीय भाइ रामाकान्त चौधरी पनि घाइते भएका छन । दाजुसँगै लुटेरालाई रोक्ने प्रयास गर्दा धारिलो हतियारले आक्रमण गरिएको थियो । गम्भीर घाइते रामाकान्तकाे लहानस्थित अस्पतालमा उपचार भइरहेकाे छ ।

लुटेराले करिब ५०/६० हजार रूपैयाँ नगद, ५ तोला सुन, २ किलो चाँदी र अन्य बहुमूल्य सामान लुटेर लगेकाे छ । घटनास्थलमा प्रहरीकाे तालिम प्राप्त कुकुरसहित सुरक्षानिकायबाट अनुसन्धान भईरहेकाे एसपी खतिवडाले जानकारी दिनुभयो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।