अमेरिकाको नयाँ युद्धविराम प्रस्तावमा हमासद्वारा संशोधनकाे माग, १० इजरायली बन्धक र १८ मृतकको शव बुझाउन भने तयार

जेष्ठ १८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाको नयाँ युद्धविराम प्रस्तावमा हमासद्वारा संशोधनकाे माग, १० इजरायली बन्धक र १८ मृतकको शव बुझाउन भने तयार

काठमाडौं । अमेरिकको नयाँ युद्धविराम प्रस्तावमा हमासले १० जना जीवित इजरायली बन्धक र १८ मृतकको शव बुझाउन तयार भएको जनाएको छ । तर त्यसका लागि केही प्यालेस्टिनी कैदीलाई रिहा गर्नुपर्ने हमासले सर्त राखेको छ । साथै हमासले अमेरिकाको नयाँ प्रस्तावमा केही संशोधनको माग पनि गरेको छ ।

समूहले स्थायी युद्धविराम, गाजाबाट इजरायली सैनिकको पूर्ण फिर्ती र मानवीय सहायताको निरन्तर प्रवाहको ग्यारेन्टीको लागि आफ्नो माग भने दोहोर्याएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कोफले प्रस्तावित अमेरिकी मस्यौदामा आफ्नो प्रतिक्रिया पेश गरेको हमासले बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा इजरायलले आफ्ना बन्धकहरूको रिहाइका लागि अद्यावधिक गरिएको विट्कोफको खाका स्वीकार गरेपनि, हमास आफ्नो अडानमा अडिग रहेको उल्लेख गरिएको छ।

प्रतिबन्धित आतङ्कवादी समूह हमासले 'स्थायी युद्धविराम' र गाजाबाट इजरायली सेनाको 'पूर्ण फिर्ती'मा जोड दिएको अमेरिका, बेलायत र युरोपेली संघले बताएको छ।

युद्धविराम गर्ने अमेरिकी योजनाको पूर्ण विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन भने यो अपुष्ट रहेको बताइएको छ।

शनिबार यसअघि, हमास-शासित गाजा स्वास्थ्य मन्त्रालयले इजरायली हमलामा विगत २४ घण्टामा ६० जनाको मृत्यु भएको र थप २८४ जना घाइते भएको बताएको थियो।