इजरायली आक्रमणमा परी गाजामा एकैदिन ४४ जनाको मृत्यु, खाद्यान्न सहायता आउन थाले पनि मानवीय स्थिति भयावह

जेष्ठ १६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली आक्रमणमा परी गाजामा एकैदिन ४४ जनाको मृत्यु, खाद्यान्न सहायता आउन थाले पनि मानवीय स्थिति भयावह

काठमाडौं । इजरायली आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । जसमा २३ जना अल-बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएका हुन् ।

यसैगरी दक्षिणी गाजा पट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्र नजिकै इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको बताइएको छ । 

अमेरिका समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित यो केन्द्र हमासको हातबाट आपूर्तिलाई टाढा राख्नको लागि सहायता वितरणको लागि नयाँ प्रणालीको एक हिस्सा हो । संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घबाट यसको आलोचना भएको छ।

दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता फिर्ता आउन थालेको छ । तर, १८ महिनाको विनाशकारी युद्धपछि मानवीय स्थिति अझैं भयावह भएको छ। 

खाद्य सुरक्षा विज्ञहरुका अनुसार हरेक पाँच जनामध्ये एक जना भोकमरीको चपेटामा परेका छन । सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि इजरायली सेनाले पनि हमासको विनाशका लागि नयाँ प्रयास गरेको भन्दै उक्त क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ ।