काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने अडान राखेको छ । सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।
प्रमुख सचेतक पाण्डेका अनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको छ । उहाँले सत्तारुढ दलहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै संसद्को कारबाही अगाडि बढाउनुपर्ने कुरा राखेको समेत जानकारी दिनुभयो । गृहमन्त्रीको राजीनामा माग कायमै राखेको र अन्य प्रतिपक्षी दलहरूसँग छलफल गरेर थप निर्णय लिइने पाण्डेको भनाइ छ ।
उहाँले भन्नुभयो, “बैठकमा संसद्को गतिरोध कसरी हल गर्ने र अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । अर्को, प्रतिगामीहरूको जुन किसिमको गतिविधि भइरहेका छन् तिनका बारेमा पनि कुरा भए । संसद्लाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल मात्रै भयो ठोस निर्णय भएको छैन । सकारात्मक रूपमा छलफल अगाडि बढाउने कुरा पनि भएको छ । हामीले प्रतिपक्षीहरूसँग पनि कुराकानी गर्नुपर्नेछ । सत्तापक्षबाट संसद् खोल्नुपर्छ भन्ने विषयवस्तु आयो । गृहमन्त्रीज्यूले पनि राजीनामा होइन अब संसद् खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । हामीले सुशासनको विषय महत्त्वपूर्ण हो भनरे राख्यौं । अरू नयाँ विषयवस्तुमा केही छलफल भएन ।”
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले सत्तापक्षले संसद् खुलाएर अघि बढ्नुपर्ने प्रस्ताव राखेकोमा प्रतिपक्षले छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताउनुभयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे पुष्टि हुने आधार नभेटिएकाले संसद्को अवरोध खुलाएर अघि बढ्नुपर्ने कुरा राखेको बताउनुभयो ।
मंगलबारदेखि संसद्को कारबाही अघि बढ्नेमा आफूहरू विश्वस्त रहेको उहाँको भनाइ छ ।