काठमाडौं । अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी महसुल लगाएर आफ्नो अधिकार नाघेको ठहर गरेको छ । अदालतको फैसलासँगै ट्रम्पको आर्थिक नीतिको एउटा मुख्य अंशलाई ठूलो झट्का दिएको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसले प्रयोग गरेको आपत्कालीन कानुनले प्रायः सबै देशहरूमा महसुल लगाउने एकपक्षीय अधिकार प्रदान नगर्ने ठहर गरेको हो ।
म्यानह्याटनस्थित अदालतले अमेरिकी संविधानले अन्य राष्ट्रहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार केवल संसद्लाई दिएको पनि प्रस्ट पारेको छ । राष्ट्रपतिको अर्थतन्त्र संरक्षण गर्ने जिम्मेवारीले संसद्को अधिकारलाई ओझेल पार्न नसक्ने पनि अदालतको भनाइ छ ।
ट्रम्प प्रशासनले तत्कालै यस फैसलाविरुद्ध अपिलको सूचना दर्ता गराएको छ ।
यो मुद्दा गैरपक्षपाती संस्था लिबर्टी जस्टिस सेन्टरले ती देशहरूबाट सामान आयात गर्ने पाँच साना व्यवसायीहरूको तर्फबाट दायर गरेको थियो ।
ट्रम्पले अप्रिल २ मा व्यापक महसुल घोषणा गरेदेखि विश्व आर्थिक बजारहरू उथलपुथल भएको छ ।