काठमाडौं । अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी महसुल लगाएर आफ्नो अधिकार नाघेको ठहर गरेको छ । अदालतको फैसलासँगै ट्रम्पको आर्थिक नीतिको एउटा मुख्य अंशलाई ठूलो झट्का दिएको छ।
अन्तर्राष्ट्रिय व्यापार अदालतले व्हाइट हाउसले प्रयोग गरेको आपतकालीन कानुनले प्रायः सबै देशहरूमा महसुल लगाउने एकपक्षीय अधिकार प्रदान नगर्ने ठहर गरेको हो ।
म्यानह्याटनस्थित अदालतले अमेरिकी संविधानले अन्य राष्ट्रहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार केबल संसद्लाई दिएको पनि प्रष्ट पारेको छ । राष्ट्रपतिको अर्थतन्त्र संरक्षण गर्ने जिम्मेवारीले संसदको अधिकारलाई ओझेल पार्न नसक्ने पनि अदालतको भनाइ छ ।
ट्रम्प प्रशासनले यस फैसलाविरूद्ध संघीय अदालतमा अपिल गर्न सक्छ। यो मुद्दा गैर-पक्षपाती संस्था लिबर्टी जस्टिस सेन्टरले ती देशहरूबाट सामान आयात गर्ने पाँच साना व्यवसायीहरूको तर्फबाट दायर गरेको थियो । ट्रम्पले अप्रिल २ मा व्यापक महसुल घोषणा गरेदेखि विश्व आर्थिक बजारहरू उथलपुथल भएको छ ।