काठमाडौं । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाइ गरेको छ । अमेरिकी भिसाअघि आवेदकको सामाजिक सञ्जाल जाँच प्रक्रिया विस्तार गर्ने डनल्ड ट्रम्प प्रशासनको तयारीसँगै अमेरिकाले नयाँ विद्यार्थी भिसामा कडाइ गरेका हुन् ।
विदेशमन्त्री मार्को रुबियोले अर्को निर्देशन जारी नहुञ्जेलसम्म विद्यार्थीको नयाँ भिसा अन्तर्वार्ता रोक्न निर्देशन दिनुभएको हो । पहिल्यै तय भइसकेका भिसाको अन्तर्वार्ता भने यथावत् रहने जनाइएको छ । यो कदम राष्ट्रपति ट्रम्पले उच्चस्तरीय विश्वविद्यालयहरूसँगको आफ्नो विवाद तीव्र बनाइरहेका बेला आएको हो ।
उहाँले ती विश्वविद्यालयहरूलाई वामपन्थी विचारधारा, यहूदीविरोधी सोच र विभेदकारी भर्ना नीतिहरू प्रवर्द्धन गरेको आरोप लगाउनुभएको छ । विदेश मन्त्रालयले विद्यार्थी तथा विनिमय भिसा आवेदकहरूका लागि सामाजिक सञ्जाल जाँच प्रक्रिया थप कडा बनाउने तयारी गरिरहेको छ ।
विदेशी विद्यार्थीहरू अमेरिकी कलेजहरूका लागि आम्दानीको मुख्य स्रोत हुन्, किनकि उनीहरूले प्रायः उच्च शुल्क तिर्छन् । तर ट्रम्प प्रशासनले विश्वविद्यालयहरूको कोर्स रोक्ने, हजारौं विद्यार्थी भिसा रद्द गर्ने र विद्यार्थीहरूलाई देशनिकाला गर्ने प्रयास गरिसकेको छ । ट्रम्प प्रशासनका पछिल्ला नीतिले नेपाली विद्यार्थीलाई पनि असर पर्ने देखिएको छ ।
प्रत्येक वर्ष औसतमा करिब १३ हजारदेखि १५ हजार नेपाली विद्यार्थी उच्च शिक्षाका लागि अमेरिका जान्छन् । भारत र बंगलादेश लगायतका देशपछि, नेपाल पनि अमेरिका विद्यार्थी पठाउने शीर्ष देशमध्ये एक हो । २०२३/२४ शैक्षिक सत्रमा, अमेरिकामा रहेका कुल अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा नेपाली विद्यार्थी २ प्रतिशत थिए । त्यस सत्रमा १६ हजार ७ सय ४२ नेपाली विद्यार्थी अमेरिका पुगेका थिए ।