काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले मूलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भूमिका खेल्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली पत्रकारिताको इतिहास : छापादेखि डिजिटलसम्म’ पुस्तक लोकार्पण तथा सम्पादक संवाद कार्यक्रममा बोल्दै मन्त्री पन्तले पछिल्लो समय मिडिया र सम्पादकहरूले राजनीतिमा निर्णायक भूमिका खेल्न नसकेको बताउनुभयो ।
मन्त्री पन्तले भारतीय युट्युबरहरूको उदाहरण दिँदै नयाँ मिडियाले समाचार, विश्लेषण र व्यङ्ग्यलाई संयोजन गरेर जनमानसमा प्रभावकारी उपस्थिति जनाइरहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारितामा न्यु मिडियाको प्रभाव बढेकै कारण नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको समेत जिकिर गर्नुभयो । मूलधारका मिडियाहरूले आफूलाई समयसापेक्ष अगाडि बढाउने र तथ्य र तथ्याङ्कमा टेकेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुनै बेला पत्रकारितामा सम्पादकहरूको कमान्ड थियो । तर आज छैन । आजका सम्पादक र मिडिया मालिक पनि निर्णायक भएका छैनन् । आज कुनै व्यक्तिले सामाजिक सञ्जालमा लेख्यो भने उसका लाखौंलाख दर्शक हुन सक्छन् । अहिले मूलधारका मिडियाभन्दा युट्युबरहरूले सत्ता हल्लाइरेका छन् । अहिले मिडियाको कन्टेन्ट परिवर्तन भएको छ । नेपालमा पनि मिडियाको स्वरूप चेन्ज भएकै कारण नयाँ पार्टीहरू जन्मेका हुन् । आज कुनै सीप नभए पनि रातारात लोकप्रिय हुन सक्नुहुन्छ । न्यु मिडियाले दिएको कुरा यही नै हो ।”