
काठमाडौं । नेपालमा मनसुन भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिबाट नेपालको पूर्वी भूभाग हुँदै यस वर्षको मनसुन नेपाल भित्रिएको हो ।
हाल मनसुनी वायु कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको छ । परिणामतः कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हाल हल्कादेखि मध्यम मनसुनी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन अगावै नेपाल प्रवेश गरेको छ ।
महाशाखाका अनुसार नेपालका अन्य भू-भागमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समय लाग्ने देखिन्छ । हाल देशको बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ ।
महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार सूचना अद्यावधिक गर्दै जाने जनाएको छ ।