काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङमा रहनुभएकी मन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका विषयहरूमा कुराकानी भएको थियो । मन्त्री राणाले समकक्षी यीलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो ।
भेटका क्रममा मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग र समन्वयका लागि धन्यवाद ज्ञापन गर्नुभयो । साथै नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको पनि स्पष्ट गर्नुभयो ।
मन्त्री राणाले सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद पनि दिनुभयो । उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा भएका सहमति एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि कुराकानी भएको थियो ।
यता चिनियाँ विदेशमन्त्री यीले जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभएको थियो । उहाँले चीनले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा निरन्तर रहने बताउँदै चीनको समन्वयमा स्थापना हुने मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत आगामी दिनमा नेपालसँग पनि समन्वयका साथ अघि बढ्न सकिने धारणा राख्नुभएको थियो । साथै मन्त्री डा राणाले दिनुभएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू नेपाल भ्रमणमा आउने बताउनुभएको थियो ।