काठमाडौं । उत्तर कोरियाले नयाँ युद्धपोतको उद्घाटनका क्रममा भएको दुर्घटनापछि तीन जना अधिकारीलाई पक्राउ गरेको छ ।
पाँच हजार टन क्षमताको विनाशक युद्धपोत उद्घाटनकै क्रममा असन्तुलित भएर क्षति पुगेको थियो । पक्राउ पर्नेहरूमा चोङजिनस्थित जहाज निर्माणस्थलका प्रमुख इन्जिनियर, निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धक छन ।
जहाज निर्माणस्थलका प्रबन्धक होङ किल होलाई कानून कार्यान्वयन निकायद्वारा बोलाइएको बताइएको छ ।
उक्त घटनालाई उत्तर कोरियाली नेता किम जोङ उनले आपारधिक कार्य भनेको त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ । उपग्रहबाट लिइएको तस्बिरहरूमा युद्धपोत एकापट्टि पल्टिएको देखिएको छ ।