रोममा अमेरिका र इरानबीच परमाणु वार्ता हुँदै

जेष्ठ ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रोममा अमेरिका र इरानबीच परमाणु वार्ता हुँदै

काठमाडौं । अमेरिका र इरानबीच आज रोममा पाँचौँ चरणको परमाणु वार्ता हुँदैछ । इरानको परमाणु कार्यक्रमका सम्बन्धमा दुवै देशबीच गत अप्रिलदेखि वार्ता जारी छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले इरानसँगको सन् २०१५ को परमाणु सहमतिबाट बाहिरिने निर्णय गरेयता दुवै देशबीच भइरहेको यो नै पहिलो उच्चस्तरीय सम्पर्क हो । परमाणु सन्धिबाट बाहिरिएपछि अमेरिकाले इरानमाथिको प्रतिबन्धलाई पुनर्स्थापित गरेको थियो । 

दोस्रो कार्यकाल सम्हालेदेखि नै राष्ट्रपति ट्रम्पले इरानमाथि अधिकतम दवाबको रणनीति अंगीकार गर्दै आउनुभएको छ । उहाँले कूटनीतिक प्रयास असफल भए सैन्य कारबाही गर्ने चेतावनी दिँदै आउनुभएको छ । 

अमेरिकासहितका पश्चिमा मुलुकले तेहरान परमाणु हतियार निर्माणको दिशातर्फ अगाडि बढिरहेको आशंका गर्दै आएका छन् । इरानले भने आफ्नो परमाणु कार्यक्रम विद्युत उत्पादन, अनुसन्धान, चिकित्सकीय प्रयोग लगायतका शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प इरानको परमाणु हतियार उत्पादन गर्न सक्ने सम्भावनालाई संकुचित गर्न चाहनुहुन्छ भने इरान आफ्नो इन्धनमा आधारित अर्थतन्त्रमाथिको विनाशकारी प्रतिबन्धबाट मुक्ति चाहन्छ ।

ओमानका मध्यस्थकर्ताको सहजीकरणमा इरानी विदेशमन्त्री अब्बास अराक्ची र मध्यपूर्वका लागि ट्रम्पका दूत स्टिभ विट्कोफले रोममा पाँचौं चरणको वार्ता गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् । 

इरानले अमेरिकासँग अप्रत्यक्ष वार्ता गर्ने भने पनि मे ११ मा भएको पछिल्लो चरणको वार्ता प्रत्यक्ष र अप्रत्यक्ष दुवै स्तरमा भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

इरानको परमाणु कार्यक्रम अन्तर्गत युरेनियम सम्वर्द्धनको विषयमा दुवै देशले सार्वजनिक रुपमै कडा अडान राख्दै आएका छन् ।