काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारत पाकिस्तान वार्ताका लागि साउदी अरब एउटा तटस्थ वार्तास्थल हुन सक्ने बताउनुभएको छ । केही टेलिभिजन पत्रकारहरूसँग प्रधानमन्त्री निवासमा कुरा गर्दै शरीफले कश्मीर, जल, व्यापार र आतंकवाद भारतसँगको वार्ताका मुख्य एजेन्डा हुने बताउनुभएको पाकिस्तानबाट प्रकाशित हुने पत्रिका डनले जनाएको छ ।
वार्ता भएको अवस्थामा राष्ट्रिय सुरक्षा सल्लाहकारको तहमा हुने प्रधानमन्त्री शरीफको भनाइ छ । यही मे १० मा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारत र पाकिस्तान संघर्षविरामका लागि सहमत भएको घोषणा गर्नुभएको थियो । त्यसको केही समयपछि नै ट्वीट गर्दै विदेशमन्त्री मार्को रुबियोले दुवै देश बृहत् मुद्दामा तटस्थ स्थानमा वार्ता गर्न सहमत भएको उल्लेख गर्नुभएको थियो ।
त्यसको भोलिपल्टै अर्थात् मे ११ मा ट्रम्पले कश्मीर मुद्दामा दुवै देशबीच मध्यस्थता गर्न अमेरिका तयार रहेको प्रस्ताव समेत गर्नुभएको थियो । यद्यपि भारतले भने यस प्रस्ताव उपर अझै कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।
यसैबीच आज राजस्थानमा आयोजित आम सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानसँग वार्ता भए पाकिस्तान नियन्त्रित कश्मीरका विषयमा मात्रै वार्ता हुन सक्ने बताउनुभएको छ । साथै उहाँले पाकिस्तानसँगको सिन्धु जल सम्झौताको निलम्बन कायमै रहने समेत बताउनुभएको छ ।
संघर्षविरामपछि दुवै देशबीच सैन्य कारबाही महानिर्देशक डीजीएमओ तहमा एक पटक मात्र वार्ता भएको छ ।
एक नेपालीसहित २६ जनाको ज्यान लिने कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको एक महिना भइसक्दा पनि भारतीय सुरक्षाबलले अहिलेसम्म कुनै आक्रमणकारी पक्राउ गर्न सकेको छैन । चार जना आतंककारीले उक्त घटना गराएको र तीमध्ये एक जना स्थानीय तथा तीन जना पाकिस्तानी भएको आरोप भारतले लगाउँदै आएको छ । सुरक्षा निकायले घटना भएको केही घण्टापछि नै चारमध्ये तीन आतंककारीको तस्बिर सार्वजनिक गरेको थियो ।
भारत र पाकिस्तान विभाजनसँगै कश्मीर मुद्दा दुवै देशबीच तनावको मूल कारणका रूपमा रहँदै आएको छ । कश्मीरको मुद्दालाई लिएर यी दुई देशबीच दुई ठुला र एउटा क्षेत्रीय युद्धका साथै अन्य थुप्रै संघर्षका घटना भएका छन् ।