हार्वड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक

अध्ययनरत विद्यार्थी समेत प्रभावित हुन सक्ने
गैरकानुनी निर्णय भन्दै हार्वडको आपत्ति
जेष्ठ ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
हार्वड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक

काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकाकै सबैभन्दा पुरानो विश्वविद्यालय हार्वडको विदेशी विद्यार्थीहरू भर्ना गर्ने क्षमताको अन्त्य गर्ने कदम चालेको छ । जसका कारण ट्रम्प प्रशासन र हार्वडबीच तनाब बढेको छ ।

अमेरिकाका आन्तरिक सुरक्षा मन्त्री क्रिस्टी नोएमले प्रशासनले कानुनको पालना गर्न असफल भएकोले हार्वडको 'विद्यार्थी र आदानप्रदान आगन्तुक कार्यक्रम प्रमाणीकरण खारेज गरेको' बताउनुभयो। 

हार्वडले एक विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासनको यस कदमलाई 'गैरकानूनी' भनेको छ। ट्रम्प प्रशासनको यस निर्णयले विश्वविद्यालयमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन। 

सरकारी कदमपछि हार्वडमा अध्ययनरत विदेशी विद्यार्थीहरूमा डर र निराशा फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । विश्वविद्यालयको तथ्यांक अनुसार, गत शैक्षिक वर्षमा ६ हजार ७ सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू यस संस्थामा भर्ना भएका थिए । जुन यस विश्वविद्यालयको कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।