काठमाडौं । गाजामा सन् २०२३ अक्टोबर ७ पछि इजरायलको आक्रमणमा साढे १६ हजार भन्दा धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन ।
गाजाको खान युनिसमा इजरायलले गरेकाे पछिल्लाे हवाई आक्रमणमा ९ जना बालबालिकाको मृत्यु भएको छ । नासेर अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर अलाआ अल-नज्जारको घरमा बम खस्दा ९ जना बालबालिकाको ज्यान गएको हो ।
घटनामा उहाँका श्रीमान र एक छोरा घाइते भएका छन । घटनामा बाँच्न सफल ११ वर्षीय बालक एडमलाई बेलायती सर्जन ग्रायम ग्रुमले शल्यक्रिया गरेको बीबीसीले जनाएको छ ।
अहिले खान युनिसका केही संदिग्ध लक्ष्यमा आक्रमण जारी राखेको इजरायली सेनाले जनाएको छ । २४ घण्टाको अवधिमा कम्तिमा ७४ जना मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा अहिले चलिरहेको अवस्था युद्धको सबैभन्दा क्रुर चरण भएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ ।
इजरायलले केही दिनअघि मात्र मानवीय सहायता प्रवेशमा प्रतिबन्ध खुकुलो पारेको भने पनि आपूर्ति निकै न्यून छ । गाजाका बालबालिका भोकमरीको सिकार बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । खानेपानी र इन्धन अभावका कारण सरसफाइ केन्द्रहरू बन्द भएको बताइएको छ ।