काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसाबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।
भेटमा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानमाथि भइरहेको ज्यादतिबारे जवाफ माग्नु भएको छ । दक्षिण अफ्रिकामा गोरा किसानहरूलाई 'सताइएको' र 'नरसंहार'को सामना गरिरहेको ट्रम्पको आरोप थियो ।
अमेरिकी आरोपको दक्षिणी अफ्रिकी राष्ट्रपति रामाफोसाले अस्वीकार गर्दै दक्षिण अफ्रिकामा गोरा मानिसहरूको तुलनामा काला मानिसहरू हिंसाको शिकार हुने सम्भावना धेरै रहेको बताउनुभयो ।
व्यापार वार्ताका लागि ह्वाइट हाउसमा राखिएको यो बैठकमा ट्रम्पका आरोपहरू नै ज्यादा हावी रह्यो । समकक्षी रामाफोसा शान्त रहँदै जातीय मेलमिलापप्रति दक्षिण अफ्रिकाको प्रतिबद्धता दोहोर्याइरहनु भयो ।
दक्षिण अफ्रिकाले जातीय-आधारित अपराधको तथ्याङ्क जारी नगरे पनि, अक्टोबरदेखि डिसेम्बर २०२४ सम्मको हालैको तथ्याङ्कले करिब १० हजार मानिसहरूको हत्या भएको देखाउँछ। यीमध्ये एक दर्जन फार्म हमलामा मारिएका थिए ।
त्यसमा एक किसान, पाँच फार्ममा बस्नेहरू र चारजना कर्मचारीहरू काला जातिको भएको बताइएको छ । विज्ञहरू र दक्षिण अफ्रिकी अधिकारीहरूले 'गोरा नरसंहार'का दाबीलाई व्यापक रूपमा खण्डन गरेका छन । एक दक्षिण अफ्रिकी न्यायाधीशले ती आरोपलाई 'स्पष्ट रूपमा कल्पना गरिएको' भनी खारेज गरेका छन।