अन्तर्राष्ट्रिय दवावका बाबजुद पनि गाजामा मानवीय सहायता वितरण नभएकोमा राष्ट्रसंघको चिन्ता

सैन्य कारवाही तत्काल बन्द गर्न इजरायललाई बेलायत, फ्रान्स र क्यानडाको चेतावनी
जेष्ठ ७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अन्तर्राष्ट्रिय दवावका बाबजुद पनि गाजामा मानवीय सहायता वितरण नभएकोमा राष्ट्रसंघको चिन्ता

काठमाडौं । अन्तर्राष्ट्रिय दवावका बाबजुद पनि गाजामा मानवीय सहायता वितरण नभएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

इजरायलले ११ हप्ता लामो नाकाबन्दी लगाएपछि सहायताका लागि ट्रकहरू सीमा पार गर्न थाले पनि गाजामा अहिलेसम्म कुनै सहायता वितरण नभएको राष्ट्रसंघले जनाएको हो ।

इजरायली अधिकारीहरूले मंगलबार ९३ वटा ट्रक गाजामा प्रवेश गरेको बताएका छन। ती ट्रकहरूमा पीठो, बच्चाको खाना, चिकित्सा उपकरण र औषधिहरू लगायतका सहायता सामग्री रहेका छन । तर, राष्ट्रसंघले केरेम शालोम क्रसिङको प्यालेस्टिनी भागमा ट्रकहरू पुगे पनि अहिलेसम्म कुनै सहायता वितरण नभएको बताएको छ।

सैन्य कारवाही तत्काल बन्द गर्न र मानवीय सहायतामाथि लगाइएको प्रतिबन्ध हटाउन इजरायललाई बेलायत, फ्रान्स र क्यानडाले चेतावनी दिएका छन । गाजामा इजरायलको "नैतिक रूपमा अक्षम्य" सैन्य वृद्धिलाई लिएर बेलायतले व्यापार वार्ता स्थगित गर्ने बताएको छ ।

यसैबीच, युरोपेली संघ (ईयू) की विदेश नीति प्रमुख काजा कालासले गाजामा इजरायलको कार्यलाई ध्यानमा राख्दै ईयूले इजरायलसँगको व्यापार सम्झौताको समीक्षा गर्ने बताउनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामित नेतान्याहुले भने हमासले सबै बन्दी रिहाइ नगरेसम्म युद्ध नरोकिने भन्दै अन्तराष्ट्रिय समुदायलाई जवाफ फर्काउनु भएको छ ।

गत हप्ता, हमास-शासित स्वास्थ्य मन्त्रालयले विगत ११ हप्तामा कुपोषणका कारण ५७ बालबालिकाको मृत्यु भएको तथ्य सार्वजनिक गरेको थियो ।