काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीको डाउनटाउनमा रहेको यहूदी संग्रहालय बाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ । इजरायली दूतावासका एक पुरुष र एक महिला कर्मचारीलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानिएको हो ।
मारिनेमा यारोन लिचिन्स्की र सराह मिलग्रीम रहेको दूतावासले जनाएको छ । उनीहरू प्रेमी प्रेमिका भएको र चाँडै नै इन्गेजमेन्ट गर्ने तयारीमा रहेको अमेरिकाका लागि इजरायली राजदूतले जानकारी दिनुभएको छ ।
गोलीप्रहार गर्ने शंकास्पद आक्रमणकारी ३० वर्षीय एलियास रोड्रिगेज नामको शिकागो निवासी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस क्रममा रोड्रिगेजले स्वतन्त्र प्यालेस्टाइनको नारा लगाएका थिए ।
स्थानीय समय अनुसार राति ९ बजेर ५ मिनेटमा उनीहरूमाथि गोली प्रहार भएको हो । घटनास्थल वरपर धेरै पर्यटकीय स्थल, संग्रहालय र सरकारी भवन छन् ।
गोली काण्डको समयमा इजरायली दूतावासका धेरै कर्मचारी संग्रहालयको कार्यक्रममा उपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकास्थित इजरायली राजदूतले यस घटनालाई आतंकवादको कुकर्म भनेका छन्।
घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शहरका प्रमुख सडकहरू बन्द गरिएको छ । घटनापछि विभिन्न देशमा रहेका इजरायली दूतावासको सुरक्षा बढाइएको छ ।