
गुल्मी । गुल्मीको ग्वाघा माविका विद्यार्थीहरू विद्यालय गएर पढ्दैनन् मात्रै बरू पछिल्लो तीन वर्षदेखि खेतीमा समेत जोडिएका छन् ।
चन्द्रकोट गाउँपालिका-५, ग्वाघामा रहेको यो विद्यालयले तीन वर्षमै तरकारी उत्पादनबाट ८ लाख रूपैयाँ आम्दानी गरिसकेको छ । अनि यो कमाइबाट शैक्षिक भ्रमणहरू सफलतापूर्वक सम्पन्न भएका छन् भने ६ लाख रूपैयाँ विद्यार्थी कल्याण कोषमा बचत छ।
पछिल्लो एक वर्षदेखि त विद्यालय पढ्दै कमाउँदै कार्यक्रममा समेत जोडिएको छ । पढाइ, परीक्षा र नतिजासँग मात्रै नभइ ग्वाधा माविका विद्यार्थीहरू सीप, सिकाइ र आम्दानीसँग समेत जोडिन पाउँदा खुसी छन् । तीन वर्षअघि दुई रोपनीमा बाँझो जग्गामा सुरु गरिएको तरकारी खेतीबाट आठ लाख रुपैयाँ आम्दानी भएको छ।
जसमध्ये विद्यार्थी कल्याणकारी कोषमा छ लाख रुपैयाँ बचत रहेको छ भने बाँकी रकम विद्यार्थी शैक्षिक भ्रमण र छात्रवृत्ति वितरण तथा प्रोत्साहन पुरस्कारमा खर्च गरिएको छ। कक्षा ८ देखि १२ सम्मका ९० जना विद्यार्थी खेतीमा संलग्न छन्।
उनीहरूले अकबरे खुर्सानी, इस्कुस, सिमी, च्याउ र अदुवालगायत विभिन्न तरकारी तथा नगदे बालीको खेती गर्दै आएका छन्। गत वर्षदेखि गाउँपालिकाले विद्यालयलाई पढ्दै कमाउँदै कार्यक्रममा जोडेर ७५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।
यस अभियानमा अभिभावकहरूको पनि साथ रहेको छ । उनीहरूले खेतीका लागि आवश्यक मल तथा विद्यालय नजिकैको व्यक्तिगत जग्गा उपलब्ध गराएर सहयोग गर्दै आएका छन् । विद्यालयले खाली समय तथा पढाइअघि-पछि विद्यार्थीहरूलाई कृषि कार्यमा संलग्न छन् ।
खेतीपातीमा संलग्नमा विद्यार्थीहरुले आम्दानी भएको रकमबाट प्रोत्साहन पुरस्कारअन्तर्गत नगद तथा शैक्षिक सामग्री पाउने गरेका छन् । यस विद्यालयले कृषि खेतीसँगै समग्र शैक्षिक सुधारबाट एक प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ ।
सन्तोष महताराको रिपोर्ट