विश्व बाघ दिवस : बाघको संख्या तेब्बर, द्वन्द्व नियन्त्रण अझै चुनौती

श्रावण १३, २०८३ |मनोज पौडेल
विश्व बाघ दिवस : बाघको संख्या तेब्बर, द्वन्द्व नियन्त्रण अझै चुनौती

कपिलवस्तु । आज विश्व बाघ दिवस । 

बलिष्ठ शरीर, अभूतपूर्ण रङ संयोजन र लजालु स्वभावको बाघ प्राकृतिक रुपमा सुन्दर र आकर्षक देखिन्छ । बाघ संरक्षणको महत्वबारे सचेतना गर्न हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । नेपालमा पाटे बाघको संख्या सन् २०१० देखि २०२२ सम्म १२ वर्षमा झन्डै तेब्बरले बढेर चार सय २९ पुगेको छ । 

यो मुलुकका लागि अन्तर्राष्ट्रिय पहिचान बढाउन र खुसीको क्षण भए पनि मानव बाघ द्वन्द्वले मानिसको ज्यान लिने घटना बढदै गएकाले चिन्ता बढाएको छ । पछिल्लो आठ वर्षमा मुलुकभर बाघको आक्रमणबाट ८५ जनाको मृत्यु भएको छ ।

मुलुकमा मानव बाघ द्वन्द्व बढिरहेको कुरा बाहिर आइरहँदा गत आर्थिक वर्षमा भएको घटनाले यो तथ्यलाई फेरि बहसको विषय बनाएको छ । पर्यापर्यटनको मुख्य आकर्षण बाघको आक्रमणमा गत आर्थिक वर्षमा ०८२-८३ मा १० जनाको मृत्यु भएको छ ।

तीन वर्षदेखि बाघको आक्रमणमा मृत्यु हुनेका संख्या घटदै आएकामा गत वर्षमा बढेको हो । गत वर्ष सबैभन्दा बढी बाके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा चार जनाको मृत्यु भएको छ । त्यस्तै बर्दिया निकुञ्जको क्षेत्रमा दुई जना, चितवन निकुञ्ज आसपासका क्षेत्रमा एक जना र पर्सा निकुञ्जको क्षेत्रमा तीन जनाको बाघको आक्रमणबाट मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ ।

पछिल्लो आठ वर्षमा मुलुकभर बाघको आक्रमणबाट मात्र ८५ जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । बाघको संख्या बढेसंगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र बासस्थान सुधार विषय चुनौती बनेका छन् । 

मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा गर्न, सागपात टिप्न र गाईभैंसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । मानव–वन्यजन्तु द्वन्द्व रोकथामका गर्न वनजंगल वरपरका समुदायलाई जंगल नपस्ने गरी जीविकोपार्जन र आयआर्जनसँग जोडनु पर्ने संरक्षणकर्मीहरु बताउँछन् । 

बाघको आनीबानी परिवर्तन गर्न सकिँदैन्, त्यसैले मानिस आफू परिवर्तन हुने वातावरण बनाउन लाग्नु पर्ने बताइएको छ । बाघ आफैंमा समस्या होइन् । तर, कहिले काहीँ बुढो भएका, घाइते भएका र बाउआमाबाट छुटेर अल्मलिएर बाहिर जाँदा द्वन्द्वमा आउन सक्ने अवस्था हुन्छ । 

बाघको संख्या धेरै हुँदैमा द्वन्द्व बढ्छ भन्ने अध्ययनले देखाउँदैन् । त्यसैले समस्यामा आएको बाघलाई समयमै पहिचान गरेर उचित व्यवस्थापन गर्न सकियो भने मानव बाघ द्वन्द्वको अवस्था आउँदैन् । बाघ भएको स्थानको पारिस्थितिकीय प्रणाली राम्रो र स्वस्थ्य छ भन्ने बुझिन्छ । 

खाद्यश्रृंखलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएकाले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा उल्लेखनीय योगदान गर्छ । विरामी, अशक्त र बुढाखाडा चित्तल, मृग र जरायोलगायतका जनावर खाएर वातावरणीय दुर्गन्ध र रोगव्याधी नियन्त्रण गर्ने काम पनि गर्छ । सानो मुलुकमा बाघको संख्या उल्लेख्य हुँदा आकर्षणसँगै चुनौती पनि थपिएको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।