काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्यका लागि रुस र युक्रेनले तत्काल युद्धविराम वार्ता थाल्ने बताउनुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँगको छुट्टाछुट्टै टेलिफोन वार्तापछि ट्रम्पले युद्धरत दुई मुलुकबीच तत्काल वार्ता सुरु हुने बताउनुभएको हो ।
ट्रम्पले दुई मुलुकले नै वार्ताको शर्त तय गर्ने बताउनुभएको छ । रुसी राष्ट्रपति पुटिनसँग ट्रम्पले झन्डै दुई घण्टा फोन वार्ता गर्नुभएको थियो । उहाँले कुराकानी सकारात्मक भएको दाबी गरे पनि पुटिनले भने अमेरिका र युरोपेली देशहरूको ३० दिने बिनासर्त युद्धविरामको मागलाई सम्बोधन नगरेको बीबीसीले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई यो एक निर्णायक क्षण भएको भन्दै अमेरिकालाई शान्ति वार्ताबाट टाढा नहुन आग्रह गर्नुभयो । आफूहरूले पूर्ण र बिनासर्त युद्धविराम चाहेको जेलेन्स्कीको भनाइ थियो । युद्धविरामका लागि रूस तयार नभए उमाथि थप कडा प्रतिबन्ध लगाउनुपर्ने जेलेन्स्कीको माग छ ।
जेलेन्स्कीले शान्ति वार्तामा अमेरिका र युरोपका प्रतिनिधिसमेत सहभागी हुनपर्ने बताउनुभएको छ । अमेरिका वार्ताको प्रक्रियामा नरहे रुसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीको भनाइ छ । यसअघि ट्रम्पले शान्ति वार्तामा कुनै प्रगति नभएको भन्दै यो विषयबाट अमेरिका टाढा हुनसक्ने चेतावनी दिनुभएको थियो ।