काठमाडौं । अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा आएको भीषण आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । कयौँ घाइते भएका छन ।
केन्टकी र मिसौरी राज्यमा आएको आँधीले ठुलो क्षति पुर्याएको हो । केन्टकीमा मात्रै १८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मिसौरीमा ७ जनाको मृत्यु भएको छ जसमा सन् लुइस सहरमा मात्रै ५ जनाको ज्यान गएको बताइएको छ ।
केन्टकीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने लरेल काउन्टीमा शनिबार बिहान आँधी ठोक्किएको थियो । मिसौरीमा करिब पाँच हजार भवन क्षतिग्रस्त भएका छन । घरका छानाहरु उडेका छन । मिसौरी र केन्टकीमा करिब १ लाख ४० हजार घरमा विद्युत आपूर्ति बन्द भएको छ ।
सन् लुइसका मेयर कारा स्पेन्सरले भवन भत्किँदा र रूख ढल्दा कम्तीमा ३८ जना घाइते भएका छन । क्षतिग्रस्त क्षेत्रमा अझैं पनि जीवित व्यक्तिको खोजी भइरहेको बताइएको छ । सबैभन्दा बढी क्षति पुगेका दुई क्षेत्रमा शनिबार राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।
राष्ट्रिय मौसम सेवाले छिमेकी राज्य इलिनोइसमा पनि आँधी देखिएको बताएको छ । टेक्सासको उत्तरी क्षेत्रमा पनि आगामी दिनमा आँधी आउन सक्ने चेतावनी जारी भएको छ ।
टोरनाडो ‘एली’ भनिने यो क्षेत्रमा प्रायः मे र जुन महिनामा आँधी आउने गर्छ । सन् २००० पछि केन्टकीमा मे महिनामा वार्षिक रूपमा औसत ५ वटा र मिसौरीमा १६ वटा आँधी आउने गरेका छन् ।