१० हप्ताको नाकाबन्दी अन्त्य गर्दै गाजामा खाद्यान्न प्रवेश गर्न दिने इजरायलको घोषणा

जेष्ठ ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
१० हप्ताको नाकाबन्दी अन्त्य गर्दै गाजामा खाद्यान्न प्रवेश गर्न दिने इजरायलको घोषणा

काठमाडौं । इजरायलले १० हप्ताको नाकाबन्दी अन्त्य गर्दै गाजामा 'आवश्यक मात्रामा' खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ ।

१० हप्ताको कठोर नाकाबन्दीपछि इजरायलले गाजामा भोकमरी संकट नहोस् भन्ने सुनिश्चित गर्न आवश्यक मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको हो । यो निर्णय इजरायली रक्षा बलको सिफारिस र हमास विरुद्ध पुनः सुरु गरिएको सैनिक आक्रमणलाई सहयोग पुर्‍याउने उद्देश्यले लिएको प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । 

नाकाबन्दीका क्रममा कुनै पनि खाद्यान्न, इन्धन वा औषधि गाजामा प्रवेश गर्न दिइएको थिएन । जसको कारण इजरायल अन्तर्राष्ट्रिय दबाबमा आएको छ । 

सहायता संस्था तथा संयुक्त राष्ट्र संघले गाजाका २१ लाख जनसंख्यामा भोकमरीको जोखिमको चेतावनी दिएका छन् । गाजामा कुपोषणले ग्रस्त बालबालिकाका तस्बिर सार्वजनिक भइरहेका छन् ।

फ्रान्सका विदेशमन्त्री ज्यान-नोएल बारोले इजरायललाई तत्काल ठूलो मात्रामा गाजामा मानवीय सहायता प्रवेश गराउन आह्वान गर्नुभएको छ । 

यसैबीच, इजरायली सेनाले गाजाभर व्यापक स्थल आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ६७ जनाको मृत्यु भएको छ । ३ सय ६१ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार उत्तरी गाजाको एक अस्पतालसहित विभिन्न स्थानहरूमा आक्रमण भएका छन् । दक्षिणी सहर खान युनिस र उत्तरी सहर बेइत लाहिया र जबालियाका शरणार्थी शिविरमा आक्रमण भएको उद्धारकर्मीहरुले बताएका छन् । आक्रमणका कारण केही अस्पतालको सेवा ठप्प भएको छ ।

यसैबीच, कतारको दोहामा इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी छ । वार्तामा उल्लेखनीय प्रगति नभएको बताइएको छ ।