रूस र युक्रेनले तत्काल युद्धविराम वार्ता थाल्ने ट्रम्पको भनाइ, पुटिन र जेलेन्स्कीसँगको टेलिफोन वार्ता सकारात्मक भएको दाबी

जेष्ठ ६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूस र युक्रेनले तत्काल युद्धविराम वार्ता थाल्ने ट्रम्पको भनाइ, पुटिन र जेलेन्स्कीसँगको टेलिफोन वार्ता सकारात्मक भएको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युद्ध अन्त्यका लागि रूस र युक्रेनले तत्काल युद्धविराम वार्ता थाल्ने बताउनुभएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीसँगको छुट्टा-छुट्टै टेलिफोन वार्तापछि ट्रम्पले युद्धरत दुई मुलुकबीच तत्काल वार्ता सुरू हुने बताउनुभएको हो ।

ट्रम्पले दुई मुलुकले नै वार्ताको सर्त तय गर्ने बताउनुभएको छ । रूसी राष्ट्रपति पुटिनसँग ट्रम्पले झण्डै दुई घण्टा फोन वार्ता गर्नुभएको थियो । उहाँले कुराकानी सकारात्मक भएको दाबी गरेपनि पुटिनले भने अमेरिका र युरोपेली देशहरूको ३० दिने बिना सर्त युद्धविरामको मागलाई सम्बोधन नगरेको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई यो एक निर्णायक क्षण भएको भन्दै अमेरिकालाई शान्ति वार्ताबाट टाढा नहुन आग्रह गर्नुभयो । आफूहरू पूर्ण र बिना सर्त युद्धविराम चाहेको जेलेन्स्कीको भनाइ थियो । युद्धविरामका लागि रूस तयार नभए उमाथि थप कडा प्रतिबन्ध लगाउनुपर्ने जेलेन्स्कीको माग थियो ।

जेलेन्स्कीले शान्ति वार्तामा अमेरिका र युरोपका प्रतिनिधिसमेत सहभागी हुनपर्ने बताउनुभएको छ । अमेरिका वार्ताको प्रक्रियामा नरहे रूसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीको भनाइ छ । यसअघि ट्रम्पले शान्ति वार्तामा कुनै प्रगति नभएको भन्दै यो विषयबाट अमेरिका टाढा हुनसक्ने चेतावनी दिनुभएको थियो ।