धनगढी । नेपाल आयल निगमले कैलालीको धनगढी डिपो स्थानान्तरणका लागि जग्गा खरिद प्रक्रिया अघि बढाएको छ । बजारको बीचमा निगमको डिपो राख्दा जोखिमपूर्ण भएको भन्दै धनगढीका स्थानीयले सार्न माग गर्दैआएका थिए ।
निगमले त्यहाँको डिपो गोदाबरी नगरपालिका ७ मा सार्ने तयारीका साथ जग्गा खरिद गर्न लागेको हो । तर, निगमले हेरेको २० बिघा जग्गा हाइटेन्सन प्रशारण लाइन मुनि छ । निगमका पदाधिकारी र जग्गा कारोबारीबीच मिलेमतोमा जग्गा खरिद गर्न लागिएको भन्दै आलोचना भइरहेको छ ।
अहिले धनगढी उपमहानगरपालिका-३ चटकपुरमा आयल निगमको डिपो छ । २०३७ सालमा १८ कठ्ठामा स्थापना गरिएको यो डिपोमा एक हप्ताका लागि मात्र पुग्ने पेट्रोलियम भण्डारण गर्न सकिन्छ । बजारको बीचमा रहेकाले जोखिमयुक्त भएको र भण्डारण क्षमता पनि कम भएकाले निगमले यसलाई सार्ने तयारी गरेको हो ।
त्यसका लागि पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको गोदावरी नगरपालिका-७ मा जग्गा खरिद गर्न लागिएको छ । तर, यो जग्गामा पनि १३२ केभीएको विद्युत प्रसारण लाइन छ । प्रसारण लाइन मुनि निगमको डिपो राख्नु जोखिमपूर्ण हुन्छ । धनगढीका अभियन्ता धनश्याम भट्टले हाइटेन्सन लाइनको मुनि पर्नेगरी आयल निगमको डिपो राख्न जग्गा लिन खोज्नुमा कमिसनको लोभ प्रष्ट देखिएको बताउनुहुन्छ ।
निगमले खरिद गर्न लागेको जग्गा २० बिघा १६ कठ्ठा छ । तर, यो जग्गा २९ जनाको नाममा रहेको निगमका अधिकारीहरु बताउँछन् । हाइटेन्सन लाइन मुनिको र धेरै जनाको नाम रहेको जग्गामा डिपो राख्न नहुने भन्दै निगमकै केही अधिकारीहरुले असहमति जनाएका छन् । धेरै ठाउँमा खोज्दा पनि नपाइएपछि यहाँको जग्गा नै रोजाइमा परेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरको भनाइ छ ।
निगमका निर्देशक विनीतमणि उपाध्यायको संयोजकत्वमा बनेको खरिद समितिले जग्गा कारोबारीसँगको साँठगाँठमा यो जग्गा उपयुक्त रहेको भन्दै किन्ने तयारी गरेपछि निगमभित्रकै एकथरी कर्मचारी असन्तुष्ट छन् ।
कैलाली र कञ्चनपुरमा अहिले पनि धेरै जमिन खाली छ । तर, उपयुक्त जग्गा खोजी गर्नुको साटो निगमका पदाधिकारीहरु हाइटेन्सन भएकै जग्गा खरिद गर्न तम्सिँदा शंका गर्ने ठाउँ देखिन्छ ।