काठमाडौं । भारतको तेलङ्गना राज्यको हैदराबाद शहरस्थित ऐतिहासिक स्मारक चारमिनार नजिकैको भवनमा आज बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना बालबालिकाका साथै पाँच जना महिला समेत रहेको जनाइएको छ ।
अन्य केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण अझै पुष्टि नभए पनि विद्युत् शर्ट सर्किट भएर आगो लागेको अनुमान गरिएको छ । अग्नि नियन्त्रण विभागले स्थानीय समय अनुसार बिहान साढे ६ बजे आगलागीको जानकारी पाएर तत्काल आगो निभाउन घटनास्थल पुगेको जनाएको छ । आगो नियन्त्रणका लागि ११ वटा दमकल र ठूलो जनशक्ति प्रयोग गरिएको विभागले जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको उहाँको कार्यालयले जनाएको छ ।