काठमाडौं । इजरायली सेनाले आज एकाबिहानैदेखि गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १२५ प्यालेस्टिनी मारिएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । इजरायलले गाजामा नयाँ स्थलगत सैन्य कारबाही सुरु गरेयता गाजामाथिको आक्रमणलाई तीव्र पारेको हो ।
उता प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच बन्धक रिहाई र युद्धविराम सम्बन्धमा दोहामा शनिबारदेखि नयाँ वार्ता सुरु भएको छ । इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको केही घण्टापछि नै उक्त वार्ता सुरु भएको हो । वार्तामा हमासले ६० दिने युद्धविराम र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको रिहाइका बदलामा ९ जना बन्धक रिहा गर्न सहमति जनाएको एक जना वरिष्ठ प्यालेस्टिनी अधिकारीले जनाएका छन् ।
नयाँ प्रस्ताव अन्तर्गत प्रतिदिन इजरायलले सहायता सामग्री बोकेका ४ सय वटा ट्रक गाजा प्रवेश गर्न र गाजाका अस्पतालमा रहेका घाइते बिरामीलाई उपचारका लागि बाहिर जान दिने प्रस्ताव गरिएको छ । इजरायले गत मार्च २ देखि गाजामा सहायता सामग्री प्रवेशमा नाकाबन्दी लगाउँदै आएको छ । इजरायलले भने हमाससँग उसको कब्जामा रहेका बाँकी बन्धकको अवस्थाबारे विस्तृत जानकारी माग गरेको बताएको छ ।
हमासको कब्जामा अहिले पनि ५८ जना बन्धक रहेको र तीमध्ये कम्तीमा २३ जना जीवित रहेको विश्वास गरिएको छ ।