अमेरिकी राष्ट्रपति ट्रम्प कतारको दोहामा

वैशाख ३१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी राष्ट्रपति ट्रम्प कतारको दोहामा

काठमाडौं । मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प कतारको राजधानी दोहा पुग्नुभएको छ । मध्यपूर्वका तीन देशको चार दिने भ्रमणका क्रममा हिजो साउदी अरब पुगेका ट्रम्प आज त्यहाँबाट दोहा पुग्नुभएको हो । कतारका अमीर शेख हमाद अल थानीले दोहा विमानस्थलमा ट्रम्पको स्वागत गर्नुभएको थियो ।

यसअघि आजै ट्रम्पले साउदी अरबको राजधानी रियादमा सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शारासँग भेटवार्ता गर्नुभएको थियो । हिजो मात्रै ट्रम्पले अमेरिकाले सिरियामाथि एक दशकभन्दा बढी समयदेखि सिरियामाथि लगाउँदै आएका सबै प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको थियो । भेटमा ट्रम्पले शारालाई इजरायलसँगको सम्बन्ध सुधार्न आग्रह गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । 

सिरियामा विगत १३ वर्षदेखि चल्दै आएको गृहयुद्ध गत वर्षको डिसेम्बरमा तत्कालीन राष्ट्रपति बसर अल असद शासनको पतनसँगै समाप्त भएको हो । एक दशकभन्दा लामो गृहयुद्धबाट जर्जर बनेको सिरियाली अर्थतन्त्रको विकासका लागि अमेरिकाको यो कदमले ठूलो सहयोग पुग्ने बताइएको छ । ट्रम्पको भ्रमणका क्रममा साउदी अरबले अमेरिकासँग १४२ अर्ब डलरको हतियार खरीद गर्ने सम्झौता गरेको छ । यस्तै साउदी अरबले अमेरिकामा थप ६ सय अर्ब डलर लगानी गर्ने प्रतिबद्धता समेत गरेको छ ।

उता कतारले पनि अमेरिकामा थप सयौं अर्ब डलर लगानीको घोषणा गर्ने अपेक्षा गरिएको रोयटर्सले जनाएको छ । यही भ्रमणकै बेला कतारले ट्रम्पलाई करिब ४० करोड डलर मूल्य पर्ने विलासी बोइङ विमान उपहार स्वरुप दिने अपेक्षा गरिएको छ । यद्यपि कतारबाट महँगो उपहार स्वीकार गर्ने ट्रम्पको यसअघिको उद्घोषको अमेरिकाभित्रै आलोचना भइरहेको छ ।

कतारको भ्रमणपछि भोलि ट्रम्प संयुक्त अरब इमिरेट्सको अबुधाबी पुग्ने र शुक्रबार वासिंगटन फर्कने पूर्वनिर्धारित कार्यक्रम छ । यसैबीच ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग हुने सम्भावित भेटका लागि आफू अबुधाबीबाट तुर्किएतर्फ लाग्न सक्ने बताउनुभएको छ ।