काठमाडौं । अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएअनुसार सम्झौतासँगै साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाईँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसको भनाइ छ । सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान एमबीएसले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन ।
त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । दुई देशबीचको सम्झौतामा हस्ताक्षर गर्ने क्रममा राष्ट्रपति ट्रम्पले साउदी युवराज एमबीएसलाई साथीको रूपमा सम्बोधन गर्नुभएको थियो ।
साउदी अरबले ‘अमेरिकामा लगानी गर्ने प्रतिबद्धता’ समेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ । अमेरिका वरपरका कृत्रिम बुद्धिमत्ता अर्थात एआइ तथ्यांक केन्द्रमा साउदीको २० अर्ब डलरको लगानी छ ।
अमेरिकी प्रविधि फर्महरूबाट दुवै देशमा अत्याधुनिक रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७-८ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ ।
गत २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेलगत्तै भएको एक टेलिफोन कुराकानीमा साउदी युवराज एमबीएसले चार वर्षभित्र अमेरिकामा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने वाचा गर्नुभएको थियो ।