काठमाडौं । मध्यपूर्वको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शारासँग साउदी अरबको रियादमा भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा साउदी राजकुमार सलमान पनि उपस्थित रहेको र टर्किएका राष्ट्रपति रिसेप तैयप इर्दोआनले भिडिओ लिंकमार्फत उक्त वार्तामा सहभागिता जनाउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकाले गत डिसेम्बरसम्म सिरियाका अन्तरिम राष्ट्रपति अल शाराको गिरफ्तारीका लागि एक करोड डलरको इनाम राखेको थियो ।
यसअघि हिजो साउदी लगानी मञ्चलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले सिरियामाथि लामो समयदेखि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने योजनाको घोषणा गर्नुभएको थियो । ट्रम्पले राजकुमार सलमान र राष्ट्रपति इर्दोआनसँगको परामर्शपछि आफूले सो निर्णय लिएको बताउनुभएको थियो । सिरियामा १३ वर्षदेखि चल्दै आएको गृहयुद्ध गत वर्षको डिसेम्बरमा तत्कालीन राष्ट्रपति बसर अल असद शासनको पतनसँगै समाप्त भएको हो ।
असद शासनको पतन इरानका लागि ठूलो पराजयको प्रतीक थियो भने क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरबका लागि खाडी क्षेत्रमा इरानको प्रभाव संकुचित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा आएको थियो ।
सबै प्रकारका प्रतिबन्ध हटाउने ट्रम्पको घोषणाले एक दशकभन्दा लामो गृहयुद्धबाट जर्जर बनेको सिरियाली अर्थतन्त्रको विकासका लागि ठूलो सहयोग पुग्ने बताइएको छ ।
असद शासनको पतनसँगै सिरियामा सैन्य तथा भौगोलिक कब्जा विस्तार गरिरहेको इजरायलका लागि भने एउटा ठूलो धक्का हुन सक्ने सीएनएले टिप्पणी गरेको छ । सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत गेइर पेडरसनले ट्रम्पको यो घोषणाको स्वागत गर्नुभएको छ । बेलायत र यूरोपेली संघले यसअघि नै सिरियामाथि लगाउँदै आएको केही प्रतिबन्ध फुकुवा गरिसकेका छन् । ट्रम्पको यस घोषणाको सिरियामा स्वागत गरिएको र मानिसहरूले सडकमा ओर्लिएर खुशियाली मनाएको समाचारमा जनाइएको छ ।