काठमाडौं । गाजास्थित खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणमा भने दर्जनौँ घाइते भएका छन।
गाजाको अस्पतालमा इजरायली आक्रमण भएको जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्।
स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको अस्पतालमा एकैसाथ ६ वटा बम खसालेका थिए । बमले अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा ध्वस्त भएको छ ।
इजरायली सेनाले भने ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूमाथि सटीक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पताल मुनि रहेको दाबी गरेको छ।
यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन। यद्यपि, उपचारपछि उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।
७ अक्टोबर २०२३ मा सुरू भएको इजरायल र हमासबीचको द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन।