भारत र पाकिस्तानबीच संघर्षविरामको घोषणापछि पनि सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी

एक अर्काविरुद्ध सहमति उल्लंघनको आरोप प्रत्यारोप
वैशाख २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारत र पाकिस्तानबीच संघर्षविरामको घोषणापछि पनि सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी

काठमाडौं । भारत र पाकिस्तानबीच संघर्षविराम घोषणाको केहि घण्टामै दुवै राष्ट्रले एक अर्काविरुद्ध सहमति उल्लंघनको आरोप लगाएका छन ।

संघर्षविराम घोषणापछि पनि शनिबार साँझ सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । 

भारत प्रशासित कश्मिरमा विस्फोटको आवाज सुनिएपछि भारतका विदेश सचिव विक्रम मिस्रीले युद्धविरामका सर्तहरू उल्लंघन भएको बताउनुभएको छ । जम्मु कश्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले नै हवाइ आक्रमणको भिडियो सामाजिक सञ्जाल एक्समा राख्नुभएको छ । 

भारतका विदेश सचिव मिस्रीले राती नै पत्रकार सम्मेलन गरी संघर्षविरामको केही घण्टामै सहमति उल्लंघन गरिनुलाई भारतले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । 

यता पाकिस्तानको विदेश मन्त्रालयले भने केही क्षेत्रमा भारतले गरिरहेको संघर्षविराम उल्लंघनका बाबजुद आफूहरू इमान्दार कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएको छ । 

अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि दुवै देश शनिबार दिउँसो तत्काल संघर्षविराम गर्न सहमत भएका थिए । लगत्तै भारतीय विदेश मन्त्रालयले हिजो अपराह्न प्रेस ब्रिफिङ गरी साँझ ५ बजेदेखि नै लागू हुने गरी संघर्षविराम गरिएको जानकारी दिएको थियो । 

दुवै पक्षबीच तत्काल स्थल, हवाई र समुद्र सबैतिरबाट गोलाबारी रोक्ने सहमति भएको ।