गाजामा इजरायली सेनाको सुरक्षा घेरामा रहेर निजी संस्थाहरूमार्फत् मानवीय सहायता प्रदान गरिँदै

पहिलो चरणमा १० लाख नागरिकलाई खाना, पानी र औषधी लगायका राहत सामग्री दिइने
वैशाख २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा इजरायली सेनाको सुरक्षा घेरामा रहेर निजी संस्थाहरूमार्फत् मानवीय सहायता प्रदान गरिँदै

काठमाडौं । इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले इजरायलको नाकाबन्दी तेस्रो महिनामा प्रवेश गरेसँगै गाजाका प्यालेस्टिनीहरूलाई निजी कम्पनीहरूमार्फत् मानवीय सहायता प्रदान गर्न नयाँ प्रणाली तयार भइरहेको बताउनुभएको छ ।

हकबीले सुरक्षित गरिएका 'वितरण केन्द्रहरू' ले सुरूमा १० लाखभन्दा बढी मानिसलाई खाना र अन्य अत्यवश्यक वस्तु आपूर्ति गर्ने बताउनुभएको हो । 

उहाँले इजरायलले यो सहायता वितरणमा भाग नलिए पनि आफ्नो सेनाद्वारा वितरण केन्द्रहरूमा सुरक्षा दिने प्रष्ट पार्नुभएको छ । मार्चको सुरूदेखि, इजरायलले गाजा पुग्ने खाना, आश्रय, औषधि र इन्धन सबै बन्द गरेको छ । 

जसले गाजाका २१ लाख बासिन्दाहरूको लागि मानवीय संकट निम्त्याएको छ। नयाँ प्रणालीले सुरूमा गाजाका १२ लाख मानिसलाई खाना, पानी र सरसफाइ किटहरू वितरण गर्दै चार वितरण स्थलहरू स्थापना गर्ने वाचा गरेको छ। परियोजनाले अन्ततः सबै गाजावासीसम्म पुग्ने लक्ष्य राखेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।