भारत र पाकिस्तानबीच संघर्ष बिराम

वैशाख २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारत र पाकिस्तानबीच संघर्ष बिराम

काठमाडौं । भारत र पाकिस्तानबीच संघर्षबिराम भएको छ ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि दुवै देश तत्काल संघर्ष बिराम गर्न सहमत भएका हुन् । भारतीय विदेश मन्त्रालयले आज अपराह्न प्रेस ब्रिफिङ गरी साँझ ५ बजेदेखि नै लागू हुने गरी संघर्ष बिराम गरिएको जानकारी दिएको हो । 

पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसाक डारले पनि सामाजिक सञ्जालमार्फत् तत्काल लागू हुनेगरी दुवै देशले संघर्ष बिराममा सहमति जनाएको जानकारी दिनुभएको छ । पाकिस्तान सदैव यस क्षेत्रमा शान्ति–सुरक्षाका लागि प्रयासरत रहेको उहाँले बताउनुभएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत् दुवै देश पूर्ण र तत्काल संघर्षविराम गर्न सहमत भएको घोषणा गर्नुभएको थियो । समझदारी र बुद्धिमताका लागि उहाँले दुवै देशलाई बधाइ दिनुभएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुई देश तत्काल संघर्ष बिराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा आफू खुसी भएको जनाउँदै दुवै देश तटस्थ स्थानमा वार्ता गर्न सहमत भएको पनि जनाउनुभएको छ । 

विदेशमन्त्री रुबियोले विगत ४८ घण्टाको अवधिमा भएका वार्तामा उपराष्ट्रपति जेडी भान्स, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, भारतीय विदेशमन्त्री एस जयशंकार लगायतका वरिष्ठ अधिकारी सहभागी भएको जनाउनुभएको छ ।

गत वैशाख ९ गते जम्मु-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत-पाकिस्तानबीच तनाव बढेर दुवै देश आक्रमणम उत्रिएका थिए । पहलगाममा भएको आतंककारी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको थियो । भारतले आतंककारीहरुलाई पाकिस्तानले प्रश्रय दिएको भन्दै आतंककारीहरु रहेको हुनसक्ने पाकिस्तानी क्षेत्रमा हवाइ आक्रमण गरेपछि दुवै देश मुठभेडमा पुगेका थिए ।