काठमाडौं । म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड खेलमा फर्किनको लागि तयार र फिट रहेको प्रशिक्षक पेप ग्वार्डिओलाले जानकारी दिएका छन। उनले यसै साता साउथ ह्याम्प्टनविरुद्धको खेलबाट सुरूवात गर्नसक्ने सम्भावना छ।
करिब ६ हप्तासम्म हेड इन्ज्युरीका कारण मैदानबाहिर रहेका हालान्ड अहिले पुनरागमन गर्ने अवस्थामा छन। हालान्डले प्रिमियर लिगमा यो सिजन २१ गोल गरेका छन।
उनी गोल्डेन बुटका दाबेदारमध्ये थिए तर चोटका कारण केही समय बाहिर रहेपछि लिभरपुलका मोहम्मद सलाहले २८ गोल गरेर उनलाई उछिनेका छन। न्युक्यासलका अलेक्जेन्डर इसाकको नाममा पनि २३ गोल छ।
यससँगै हाल्यान्ड अहिले धेरै गोल गर्ने खेलाडीको तालिकामा तेस्रो स्थानमा छ। यता सिटी प्रिमियर लिग अंकतालिकाको तेस्रो स्थानमा छ। उसका अब तीन खेल मात्र बाँकी छन।
दोस्रो स्थानको आर्सनलभन्दा सिटी तीन अंकले पछि छ भने चौथो स्थानको न्युक्यासलभन्दा एक अंकले मात्रै अगाडि छ। ग्वार्डिओलाले हाल्यान्ड खेल्ने कि नखेल्ने भन्ने निर्णय शनिबार गरिने बताए।
साथै उनले मिडफिल्डर रोड्री अझै उपलब्ध नभएको, ओस्कार बब र नाथन एकेले अभ्यास सुरू गरेपनि खेल्न नसक्ने बताएका छन। साउथ ह्याम्प्टन भने ११ अंकसहित तालिकाको पुछारमा रहँदै पहिले नै रेलिगेट भइसकेको छ।
केबल दुई जित मात्र निकाल्न सकेको यो क्लबसँग म्यानचेस्टर सिटी खेल्न लागेको हो। ग्वार्डिओलाले साउथह्याम्प्टनलाई हल्का रूपमा नलिने बताएका छन। सिटीले पछिल्ला चार खेलमा लगातार जित निकालेको छ। ग्वार्डिओलाको लागि यो सिजनकै सबैभन्दा राम्रो नतिजा हो।