काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ नेताले गाजा युद्धविराम र बन्धक रिहाइबारे इजरायलसँग थप वार्ताको कुनै औचित्य नरहेको बताएका छन् । आइतबार इजरायली मन्त्रिपरिषद्को सुरक्षा समितिले गाजामा स्थल सैन्य कारबाही विस्तार गर्ने र गाजालाई कब्जामा लिने योजना पारित गरेपछि हमासका वरिष्ठ नेता बस्सेम नइमको यस्तो प्रतिक्रिया आएको हो ।
बीबीसीसँग कुरा गर्दै नइमले गाजामा भोकमरीको युद्ध जारी राख्दासम्म इजरायलसँग युद्धविराम र बन्धक रिहाइ सम्बन्धी नयाँ प्रस्तावमा वार्ता नगर्ने बताउनुभएको हो । इजरायलले मार्च २देखि गाजामा सबै प्रकारका सहायता सामग्री र खाद्यान्न प्रवेशमा नाकाबन्दी लगाएको छ भने त्यसले त्यहाँ भोकमरीको स्थिति उत्पन्न भएको छ ।
सोमबार इजरायली अधिकारीहरूले सुरक्षा मन्त्रिपरिषद्ले पारित गरेको योजनामा गाजामा स्थल सैन्य कारबाही विस्तार गर्ने, गाजाको सबै भूभाग कब्जा गर्ने, गाजाका २१ लाख जनसंख्यामध्ये अधिकांशलाई विस्थापित गर्ने, मानवीय सहायता सामग्री आपूर्ति प्रक्रियालाई निजी कम्पनीमार्फत आफ्नो नियन्त्रणमा लिने र हमासलाई निर्णायक रूपमा पराजित गर्ने कुरा समेटिएको बताएका थिए । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले यही मे १३ देखि १६ सम्म गर्ने मध्यपूर्वको भ्रमणपछि मात्रै यो योजना कार्यान्वयनमा आउने ती अधिकारीले बताएका थिए ।
हमाससँग यो बीचमा युद्धविराम र बन्धक रिहाइको सम्झौता गर्ने अवसर भने खुला रहने ती अधिकारीले बताएका थिए ।
यसैबीच संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, बेलायत र फ्रान्सले इजरायलको नयाँ योजनाको भर्त्सना गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको यस्तो योजनाप्रति चिन्ता व्यक्त गर्नुका साथै यसले अवश्यम्भावी रूपमा असंख्य गैरसैनिक मारिने र गाजाको थप विनाश हुने भन्दै चेतावनी दिनुभएको छ ।
यसैबीच इजरायलले सोमबार एकै दिन यमन, लेबनान, सिरिया र गाजामा हवाई आक्रमण गरेको अल जजीराले उल्लेख गरेकोछ । सोमबारको आक्रमणमा गाजामा कम्तिमा ५४ जना मारिएको र यससँगै २०२३को अक्टोबर ७ यता गाजामा मारिने प्यालेस्टिनीको संख्या ५२ हजार ५६७ पुगेको जनाइएको छ । हमास नियन्त्रणमा अझै ५९ जना बन्धक रहेको र तीमध्ये २४ जना जीवित रहेको विश्वास गरिएको छ ।