युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि मस्कोस्थित सबै विमानस्थल बन्द

कम्तिमा १९ वटा ड्रोन नष्ट गरिएको रुसको दाबी
वैशाख २३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि मस्कोस्थित सबै विमानस्थल बन्द

काठमाडौं । युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि रूसको राजधानी मस्कोस्थित सबै विमानस्थल बन्द गरिएको छ ।

रुसले युक्रेनले लगातार दोस्रो रात मस्कोलाई लक्षित गरी ड्रोन आक्रमण गरेको बताएको छ । सुरक्षा सुनिश्चित गर्न राजधानी मस्कोका चारवटै मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको रूसको नागरिक उड्डयन नियामक रोसाभियात्सियाले जनाएको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा कम्तीमा १९ युक्रेनी ड्रोनहरू शहरमा पुग्नुअघि नष्ट गरिएको बताउनुभएको छ । उहाँले केही ड्रोनका भग्नावशेष शहरमा जाने मुख्य राजमार्गहरू मध्ये एकमा खसे पनि कुनै मानवीय क्षति नभएको बताउनुभयो । 

युक्रेनले भने मस्कोको यो रिपोर्टमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । जुन सोमबार रूसको कुर्स्क क्षेत्रमा भएका ताजा घुसपैठपछि आएको हो। कुर्स्क क्षेत्रका कार्यवाहक गभर्नरका अनुसार रायल्स्कस्थित सबस्टेसनमा दुईवटा ट्रान्सफर्मरमा क्षति पुगेको छ। 

यसैबीच, सुमीमा- उत्तरपूर्वी युक्रेनको त्योत्किनोबाट करिब १२ किलोमिटर पर- स्थानीय अधिकारीहरूले दुईवटा बस्तीबाट मानिसहरूलाई बाहिर निकाल्न आग्रह गरेका छन।