भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा गर्‍यो हवाई हमला, दुई बालकसहित ७ जनाको मृत्यु

आक्रमणको जवाफ दिने पाकिस्तानकाे जवाफ
वैशाख २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा गर्‍यो हवाई हमला, दुई बालकसहित ७ जनाको मृत्यु

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा हवाई हमला गरेको छ । भारतले विभिन्न नौं स्थानमा गरेको आक्रमणमा दुई बालकसहित ७ जनाको मृत्यु भएको पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन ।

भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा ‘अपरेशन सिन्दूर’ नाम दिएर हवाई हमला गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा सुरू गरिएको अपरेशन सिन्दुरले अतिवादीको आश्रयस्थल मानिएका नौं स्थानमा आक्रमण गरेको हो । 

भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए-मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरू छनोट गरेको हो । यो आक्रमणबारे भारतले अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रूसलाई जानकारी दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

‘अपरेशन सिन्दूर’का कारण भारतीय हवाई उडानहरू अस्तव्यस्त भएका छन । इंडिगो एयरलाइन्सले उत्तरी भारतको आकाशमा हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसकाअनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने जाने सबै उडानहरू डिले गरिएको छ ।

यसैबीच भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणबारे अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले प्रतिक्रिया जनाउनु भएको छ । उहाँले घटनालाई लाजमर्दाे भन्दै भारत-पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । 

१५ दिनअघि पहलगाममा भएको आतंकवादी घटनाको बदलास्वरूप भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित काश्मिरमा आक्रमण गरेको हो । पाकिस्तानले भारतद्वारा गरिएको कायरता पुर्वक आक्रमणको जवाफ दिने बताएको छ ।