विश्वले भारत र पाकिस्तानबीचको सैन्य भिडन्त सहन सक्दैन : राष्ट्रसंघ महासचिव

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विश्वले भारत र पाकिस्तानबीचको सैन्य भिडन्त सहन सक्दैन : राष्ट्रसंघ महासचिव

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव चरम उत्कर्षमा पुगेसँगै विश्वका नेताहरूले गम्भीर चिन्ता व्यक्त गर्दै संयमता अपनाउन दुवै पक्षलाई आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अधिकतम सैन्य संयमता अपनाउन दुवै देशलाई आह्वान गर्नुभएको छ ।

महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाको पारिपट्टि भारतले गरेको सैन्य कारबाहीप्रति महासचिव अत्यधिक चिन्तित रहेको बताउनुभएको छ । महासचिव गुटेरेसले विश्वले भारत र पाकिस्तानबीचको सैन्य भिडन्त सहन नसक्ने धारणा राख्नु भएको प्रवक्ता दुजारिकको भनाइ छ ।

यस्तै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लज्जाको संज्ञा दिनुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो तनाव चाँडै अन्त्य हुने अपेक्षा आफूले गरेको बताउनुभएको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकारस‌ँग यस विषयमा टेलिफोन वार्ता गर्नुभएको छ । टेलिफोन वार्तामा रुबियोले दुवै देशलाई पारस्परिक संवादको बाटो खुला राख्न र द्वन्द्व भड्किन नदिन आग्रह गर्नुभएको विदेश मन्त्रालयले जनाएको छ ।

यसैगरी छिमेकी मुलुक चीनले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई 'खेदजनक' भन्दै प्रतिक्रिया दिएको छ । चीनले दुवै देशलाई संयमता अपनाउन र शान्ति तथा स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्न आह्वान गरेको छ ।

रूस, बेलायत, फ्रान्स, अफगानिस्तान लगायतका देशले समेत उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै देशलाई संयमता अपनाउन आह्वान गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.