परमाणु हतियारसम्पन्न दुई छिमेकीबीचको टकराव : नेपाललाई पर्न सक्छ अभर

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
परमाणु हतियारसम्पन्न दुई छिमेकीबीचको टकराव : नेपाललाई पर्न सक्छ अभर

काठमाडौं । भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमण र उचित समयमा जवाफी कारबाही गर्ने पाकिस्तानको चेतावनीसँगै दुई देशबीचको द्वन्द्व पूर्ण युद्धमा परिणत हुने खतरा बढेको छ । भारतसँग सीमा जोडिएको र पाकिस्तान पनि नजिकै भएकाले दुई मुलुकबीचको द्वन्द्वबाट नेपाल पनि प्रत्यक्ष रूपमा प्रभावित हुने देखिन्छ । भारत-पाकिस्तान द्वन्द्व मात्र होइन, भौगोलिक रूपमा टाढा रहे पनि रूस-युक्रेन र इजरायल-हमास युद्धमा पनि नेपाल प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।

भारत पाकिस्तानबीचको अहिलेको द्वन्द्वको मूल कारकका रूपमा रहेको पहलगाम आतंककारी आक्रमणमा नेपाल प्रत्यक्ष प्रभावित राष्ट्र हो । २६ जनाको ज्यान लिने गरी गत अप्रिल २२ मा भएको उक्त आक्रमणमा आमा र बहिनी ज्वाइँसहित कश्मीर घुम्न गएका २७ वर्षीय सुदीप न्यौपाने पनि मारिएका थिए । छिमेकी देश भारतको मात्र कुरा होइन, भौगोलिक रूपमा निकै टाढा रहे पनि विश्वमा जारी दुई ठूला युद्ध रूस-युक्रेन र इजरायल-हमास युद्धमा पनि नेपाल प्रत्यक्ष रूपमा प्रभावित भएको छ । 

सन् २०२३ को अक्टोबर सातमा प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए भने विपिन जोशी अहिले पनि हमासको नियन्त्रणमा रहेका छन् । पढ्दै कमाउँदै अर्थात लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायल गएका नेपाली विद्यार्थीहरू हमास आक्रमणको निशानामा परेका थिए । करीब १२ सय जनाको ज्यान लिने गरी हमासले गरेको सोही आतंककारी आक्रमणपछि नै इजरायलले गाजामाथि प्रत्याक्रमण सुरु गर्‍यो, जुन अझै जारी छ । इजरायलको आक्रमणमा गाजामा ५२ हजारभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन् ।

उता २४ फेब्रुअरी २०२२ मा सुरु भएको रूस–युक्रेन युद्धबाट पनि नेपाल र नेपाली प्रत्यक्ष रूपमै प्रभावित भएका छन् । विभिन्न दलालको प्रलोभनमा परेर रूसी सेनामा भर्ती हुँदै युक्रेनविरुद्धको युद्ध लड्न पुगेका थुप्रै नेपालीमध्ये अहिलेसम्म कम्तीमा ४३ जनाले ज्यान गुमाइसकेका छन् । कम्तीमा एक हजार नेपाली यसरी रूसी सेनामा भर्ती भएको अनुमान गरिए पनि नेपाल सरकारसँग यकिन तथ्यांक छैन् । 

रूसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध लड्न पुगेकामध्ये कम्तीमा सात नेपालीलाई युक्रेनले युद्धबन्दी बनाएको छ र ती अझै रिहा हुन सकेका छैनन् । रूस–युक्रेन युद्धले विश्व अर्थतन्त्र र खाद्यान्न आपूर्ति शृङखलामा पनि निकै ठूलो असर पारेको छ । युद्धमा दुवै पक्षका हजारौं सैनिकले ज्यान गुमाएका छन् भने हजारौं सर्वसाधारण मारिनुका साथै लाखौं विस्थापित भएका छन् ।

विश्वमा जारी दुई ठूला युद्ध इजरायल–हमास र रूस–युक्रेन युद्धबाट नेपालीहरू प्रत्यक्ष प्रभावित भइरहँदा परमाणु हतियारसम्पन्न दुई छिमेकीबीच युद्ध सुरु भएको अवस्थामा स्थिति थप जटिल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.