काठमाडौं । इजरायलले गाजापट्टिमा हमासविरुद्धको स्थलगत सैन्य कारबाहीलाई उल्लेख्य रुपमा विस्तार गर्ने र गाजालाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिनेसम्बन्धी योजनालाई स्वीकृत गरेको छ ।
इजरायली मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा समितिको आइतबार साँझ बसेको बैठकले उक्त योजनालाई स्वीकृति दिएको हो । कारवाहीको तयारी स्वरुप इजरायली सेनाले हजारौं जगेडा सैनिकलाई सम्पर्कमा आउन आह्वान गरेको समाचारमा जनाइएको छ ।
तर, यो योजना अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको आगामी साता हुने यस क्षेत्रको भ्रमणपछि मात्रै कार्यान्वयनमा लगिने जनाइएको छ । ट्रम्पले यही १३ मे देखि १६ मेसम्म मध्यपूर्वको भ्रमण गर्नु हुने बताइएको छ ।
सुरक्षा मन्त्रिपरिषद्ले गाजामा बन्द रहँदै आएको खाद्यान्न तथा मानवीय सहायताको आपूर्ति निजी कम्पनीहरु मार्फत् सञ्चालन गर्ने प्रस्तावलाई पनि सैद्धान्तिक रुपमा अनुमोदन गरेको छ ।
राष्ट्रसंघ र अन्य सहायता एजेन्सीले उक्त प्रस्ताव आधारभूत मानवीय सिद्धान्तको उल्लंघन हुने भन्दै यसमा आफ्नो सहयोग नहुने प्रतिक्रिया जनाएका छन् ।
इजरायलले दुई महिनादेखि लगाउँदै आएको नाकाबन्दीका कारण गाजामा खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको गम्भीर अभाव सिर्जना भएको राष्ट्रसंघले बताउँदै आएको छ ।
इजरायली सुरक्षा मन्त्रिपरिषदले गाजामा सैन्य कारवाही विस्तारको उक्त योजनालाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । उक्त योजना अन्तर्गत क्रमिक रुपमा स्थलसैन्य कारबाही विस्तार गरिने र यसमा महिनौं लाग्न सक्ने बताइएको छ ।
करीब दुई महिना लामो गाजा युद्धविराम उल्लंघन गर्दै इजरायलले गत मार्च १८ देखि गाजामा पुनः आक्रमण शुरु गरेको हो भने वर्तमान अवस्थामा गाजाको करीब एक तिहाई क्षेत्र इजरायली सेनाको नियन्त्रणमा रहेको जनाइएको छ । हमास पूर्णरुपमा पराजित नहुँदासम्म वा हतियार त्यागेर गाजाबाट बाहिरिने सहमति नजनाउँदासम्म सो कारबाही नरोकिने सुरक्षा मन्त्रिपरिषदका सदस्य जिभ एलकिनले जानकारी दिनुभएको छ ।
यसैबीच, बन्धक तथा बेपत्ता परिवार मञ्चले बन्धक रिहाइभन्दा भूमि नियन्त्रणलाई बढी महत्व दिएको भन्दै सरकारको योजनाप्रति गम्भीर आपत्ति जनाएको छ । हमासको नियन्त्रणमा अझै ५९ जना बन्धक रहेको र तिमध्ये २४ जना मात्र जिवित रहेको जनाइएको छ ।