काठमाडौं । दुई छिमेकी देश भारत र पाकिस्तानबीच बढेको तनावलाई कूटनीतिक माध्यमबाट सुल्झाउन र दुवै मुलुकलाई संयम हुन नेपाली कूटनीतिज्ञहरूले सुझाव दिएका छन् । दक्षिण एसियाका दुई आणविक शक्ति राष्ट्रको युद्धले छिमेकमा मात्र नभई विश्वमै तरंग ल्याउने ल्याउन सक्ने भएकाले सार्क संगठनको अध्यक्षको हैसियतले नेपालले कूटनीतिक माध्यमबाट तनाव समाधानको पहल गर्न उनीहरूले सुझाएका छन् ।
भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा आक्रमण गरेपछि दक्षिण एसियाली देश मात्र होइन, विश्व नै तरंगित भएको छ । कश्मीरको पहलगाममा भएको आतंककारी हमलाको जवाफी कारबाहीमा भारतले पाकिस्तामा आक्रमण गरेको दाबी गरेको छ । तर यसको प्रभावमा नेपालमा पनि पर्ने छ । यो अवस्थामा सार्क संगठनको अध्यक्षको हैसियतले नेपालले भारत र पाकिस्तान दुवै देशलाई संयम बनाउन पहल गर्नुपर्ने छ ।
कूटनीतिज्ञहरूले दुवै देशलाई आक्रमण रोक्ने भूमिका निर्वाह गर्न सरकारलाई सुझाव दिएका छन् ।
“हामी सार्कका अध्यक्ष पनि हौं । दक्षिण एसियाका महत्त्वपूर्ण देश पनि हौं । सार्कको मुख्यालय पनि यहीँ छ । त्यसैले हामीले दक्षिण एसियामा के कसो भइरहेको छ त्यसमा चिन्ता सरोकार व्यक्त गर्नु हाम्रो राष्ट्रिय हितमा पनि दक्षिण एसियाको हितमा पनि छ र यो हाम्रो जिम्मेवारी पनि हो”, भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्यले भन्नुभयो ।
पूर्वराजदूत तथा पूर्वपरराष्ट्रमन्त्रीहरूले भारत र पाकिस्तानबीच बढेको तनावको मारमा छिमेकी अन्य मुलुक पर्ने बताएका छन् । यो अवस्थामा दुवै देशलाई शान्तिपूर्ण संवादमा ल्याउन नेपालले पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
“नेपालले आतंकवादलाई कहिल्यै पनि समर्थन गर्दैन भन्ने कुरामा नेपाल स्पष्ट हुनुपर्छ । किनकि यसमा समग्र क्षेत्रकै सुरक्षा जोडिएको हुन्छ । शान्ति ल्याउनका लागि हामी भूमिका खेल्न तयार छौं भन्ने खालको सन्देश जानुपर्छ तर दुइटा देशबीच म के के न गर्छु भनेर हौसिएर जानु पनि हुँदैन”, पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले बताउनुभयो ।
नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । अहिले दुई छिमेकी मुलुकबीच बढेको तनाव कम गर्न नेपालले अवलम्बन गरेको नीति उपयुक्त हुने छ ।