भारत-पाकिस्तान तनाव : नेपालले उच्च सतर्कता अपनाउने, सीमा वारपार गर्नेको अभिलेख राखिने

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारत-पाकिस्तान तनाव : नेपालले उच्च सतर्कता अपनाउने, सीमा वारपार गर्नेको अभिलेख राखिने

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतले गए राति पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा आक्रमण गरेपछि नेपालको सुरक्षामा पार्ने प्रभावका बारेमा केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय सुरक्षा परिषद् बैठकमा समीक्षा भएको हो ।

गृहमन्त्रीको नेतृत्वमा रहने केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकमा नेपालको सुरक्षाका विषयमा छलफल भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै नेपाली सेनाका रथी समेत सहभागी बैठकमा नेपालको सीमा क्षेत्र पर्ने प्रभावबारे विश्लेषण गर्दै उच्च सतर्कता अपनाउने निर्णय भएको छ । 

लगतै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत र पाकिस्तानबीचको बढ्दो तनावले निम्त्याउन सक्ने सुरक्षा परिस्थितिको जानकारी गराएका थिए । योसँगै आजै राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो । विशेष गरेर नेपाल-भारत खुला सीमा रहेकाले आवातजावत गर्नेहरूको पूर्णरूपमा परिचयपत्र हेर्ने र अभिलेख समेत राख्ने निर्णय भएको छ ।

आजैदेखि कश्मीर नजिक पर्ने कैलाली, कञ्चनपुर, डडेलधुरा लगायत पश्चिम नाकामा विषेश निगरानी बढाइएको छ । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरू सबैको परिचयपत्र हेर्ने र नेपालमा जाने स्थान समेत यकिन गरेर मात्रै प्रवेश दिएको छ । नेपाल प्रहरीले पनि आवश्यक पर्दा सशस्त्रसँगै सीमा क्षेत्रको गस्ती गर्ने भएको छ । 

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेहरूको पनि विषेश निगरानी सुरु भएको छ । भारतले पाकिस्तानमाथि आक्रमण गरे पनि पास्कितानले त्यसको जवाफ कसरी दिन्छ भन्ने हेरेर मात्रै थप निर्णय लिने सरकारको तयारी छ । दुवै देशबीच थप द्वन्द्वको स्थित आए नेपालले दिँदै आएको भिसा प्रणालीमा पनि पुनःविचार गर्ने विषयमा छलफल भएको छ । 

त्यस्तै नेपालले सीमा नाकासँगै धार्मिक स्थलहरू तथा दुवै देशका कूटनीतिक नियोगलाई पनि संवेदनशील रूपमा हेरेर सुरक्षा रणनीति बनाउने भएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावलाई नेपालका चार वटै सुरक्षा निकायले उच्च सतर्कतासहित जानकारी लिइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.