काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सरकारी स्वामित्वको गोरखापत्र कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको बताउनुभएको छ । गोरखापत्र दैनिकको १२५ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रपछि स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने छुट गोरखापत्रले पाएको बताउनुभएको हो ।
उहाँले निष्पक्ष पत्रकारिता गर्न सरकारले कुनै रोकटोक नगरेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले राजाको शासनमा राजाको इसाराअनुसार लेख्नुपर्ने बाध्यता गोरखापत्रलाई हुने गरेको स्मरण गराउँदै अहिले सरकारले कुनै किसिमको दबाब नदिने स्पष्ट पार्नुभयो । पत्रकारले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाउने अवस्था अहिले रहेको उहाँको भनाइ थियो ।