अहिले देखिएका समस्या सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइन्छ : मन्त्री गुरुङ

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
अहिले देखिएका समस्या सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइन्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइने बताउनुभएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस, २०८२ को अवसरमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान– २०८१ कार्यक्रममा बोल्दै उहाँले आमसञ्चार विधेयक ड्राफ्टको क्रममा रहेको बताउँदै यसले सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको बताउनुभयो । 

उहाँले पछिल्लो समय प्रिन्ट र ब्रोडकास्टिङ मिडियाभन्दा अनलाइन मिडियामा धेरै समस्या देखिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सामाजिक सञ्जाल ऐनलाई पेस गरिसकेको बताउनुभयो । यस्तै मिडिया काउन्सिल विधेयक पनि छलफलमा रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले हामी यो क्षेत्रको कुराकानी गरिरहँदा हामी संक्रमणकालमा छौं जस्तो लाग्छ । प्रेस काउन्सिलले अहिलेको सबै समस्याको सम्बोधन हुन सकेन भनेर मिडिया काउन्सिल विधेयक संसद्‌मा पेस गरेर छलफलको क्रममा छ । अहिले प्रिन्ट मिडिया, ब्रोडकास्टिङ मिडियाको भन्दा पनि धेरै समस्या अनलाइन मिडियाको भएको हुनाले यसको सोसल नेटवर्क सञ्चालन र प्रयोगकर्ताहरूको व्यवस्थापन र नियमन गर्नको लागि सोसल मिडिया प्लेटफर्म प्रयोग, सञ्चालन र नियमनको लागि विधेयक पनि हामीले पेश गरिसकेका छौं । त्यो राष्ट्रिय सभामा छलफलमा छ । आम सञ्चार विधेयकमा पनि हामी छलफलको क्रममा छौं । ड्राफ्ट पनि हुँदैछ । यसमा हामी अहिलेको सबै समस्याको सम्बोधन गर्ने ढङ्गले त्यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर लागिरहेका छौं ।”

उहाँले खतरनाक तरिकाले फैलिएको साइबर क्राइमलाई नियन्त्रण र र नियमन गर्नको लागि साइबर सुरक्षा ऐन प्रस्ताव गर्न लागिएको समेत बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.