क्यानडाको संसदीय निर्वाचनमा सत्तारुढ दल लिबरल पार्टी विजयी

वैशाख १६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
क्यानडाको संसदीय निर्वाचनमा सत्तारुढ दल लिबरल पार्टी विजयी

काठमाडौं । क्यानडामा हिजो भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल लिबरल पार्टी विजयी भएको छ । प्रमुख विपक्षी दल कन्जरभेटिभ पार्टीले आफ्नो पराजय स्वीकार गरेको छ ।

पार्टीको विजयपछि सम्बोधन गर्दै कार्नीले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका सामु क्यानडा कहिल्यै नझुक्ने स्पष्ट सन्देश दिनुभएको छ । कार्नीले क्यानडमाथि अधिकार जमाउन सकियोस् भनेर ट्रम्पले आफूहरुलाई विभाजित गर्न खोजेको तर यो कहिल्यै सम्भव नहुने बताउनु भयो ।

राष्ट्रपति पद सम्हालेदेखि नै ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने विवादास्पद अभिव्यक्ति दिनुका साथै क्यानडाबाट अमेरिका आयात हुने वस्तुमा भारी करको घोषणा गर्नु भएको थियो, सोही पृष्ठभूमीमा कार्नीको यस्तो भनाइ आएको हो ।

आफ्नो सम्बोधनमा कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको र अमेरिकी विश्वासघातको आघातबाट क्यानडा उँभो लागिसकेको बताउनु भयो । साथै उहाँले आगामी दिनमा राष्ट्रपति ट्रम्प र आफूले दुई सार्वभौम र स्वतन्त्र राष्ट्रको भविष्यबारे छलफल गर्ने समेत बताउनु भएको छ ।

यसअघि मंगलबार बिहानै विपक्षी कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिएभ्रले निर्वाचनमा आफ्नो दलको पराजय स्वीकार गर्दै कार्नीको दलले झिनो मतान्तर सहितको अल्पमतको सरकार बनाउनकालागि पर्याप्त सीट जितेको टिप्पणी गर्नुभएको थियो ।

क्यानडेली जनताले लिबरल पार्टीलाई लगातार चौथो कार्यकालकालागि सत्तामा पुर्याएका हुन् । तर कार्नीको दलले एकल सरकार बनाउनकालागि पर्याप्त बहुमत प्राप्त गर्छ वा गठबन्धन सरकारकालागि सहयोगी दलको आवश्यता पर्छ अझै स्पष्ट भैसकेकोछ ।

क्यानडामा संसदको तल्लो सदन हाउस अफ कमन्सको ३ सय ४३ स्थानकालागि निर्वाचन भएको हो । बहुमतकालागि कुनै पनि दलले कम्तिमा एक सय ७२ सिट जित्नु आवश्यक हुन्छ । सबैस्थानको मतगणना नसकिएकोले लिबरल पार्टीले बहुमत पुर्याउँछ वा पुर्याउँदै प्रतिक्षाको विषय रहेकोछ ।

निर्वाचनमा न्यू डेमोक्र्याटिक पार्टी एनडीपीले भने नराम्रो पराजय भोगेकोछ । निवर्तमान संसदमा २४ सिट भएको एनडीपीले अहिलेसम्म २ सिट मात्रै जितेकोछ भने यस पार्टीका नेता जगमीतसिंहले पार्टीको नेता पदबाट राजिनामा दिने घोषणा गर्नुभएकोछ । सिंह खालिस्तान समर्थक नेता मानिनुहुन्छ भने उहाँ स्वयं पनि आफ्नो निर्वाचन क्षेत्रबाट पराजित हुनुभएकोछ ।