रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनमा तीनदिने एकतर्फी अस्थायी युद्धविरामको घोषणा

वैशाख १५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनमा तीनदिने एकतर्फी अस्थायी युद्धविरामको घोषणा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आगामी मे ८ देखि लागू हुनेगरी तीन दिने एकतर्फी अस्थायी युद्धविराम घोषणा गर्नुभएको छ ।

पुटिनले युक्रेनलाई पनि सो अवधिका लागि युद्धविरामको घोषण गर्न आह्वान गर्नुभएको छ । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजय अर्थात् द भिक्ट्री डेको ८०औं वार्षिकोत्सवको सम्मानमा पुटिनले तीन दिने युद्धविरामको घोषणा गर्नुभएको स्थानीय समाचार माध्यमले जनाएका छन् । 

७२ घण्टे उक्त युद्धविराम मे ८ को प्रारम्भदेखि मे १० को अन्त्य अर्थात् मध्यरातसम्म लागू हुने रोयटर्सले उल्लेख गरेको छ । पुटिनले मानवीय कारणलाई ध्यानमा राख्दै उक्त घोषणा गर्नुभएको र सो अवधिमा युक्रेन विरुद्धको सबै सैन्य गतिविधि स्थगित गर्न आदेश दिनु भएको समाचारमा उल्लेख गरिएको छ । 

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले युक्रेनले पनि सो युद्धविरामलाई पालना गर्ने अपेक्षा गरिएको र यदि किएभले त्यसको उल्लंघन गरेको अवस्थामा रुसी सेनाले पर्याप्त र प्रभावकारी जवाफ दिने चेतावनी दिएको छ । 

क्रेमलिनद्वारा जारी सन्देशमा 'युक्रेन संकटको मूल कारणलाई निर्मूल गर्न र अन्तर्राष्ट्रिय साझेदारसँग रचनात्मक अन्तरक्रिया गर्नका लागि बिनाकुनै पूर्वशर्त शान्ति वार्ताका लागि तयार रहेको कुरा रुसी पक्ष पुनः घोषणा गर्दछ' भनिएको छ ।

यसअघि, आजै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले शान्ति सम्झौताको बदलामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की क्राइमिया छाड्न तयार हुन सक्ने भन्दै युक्रेनमाथिको आक्रमण रोक्न र युद्ध अन्त्यका लागि सहमत हुन पुटिनलाई आह्वान गर्नुभएको थियो । 

रुसले युक्रेनको दक्षिणी प्रान्त क्राइमियालाई सन् २०१४ मा आफूमा गाभेको घोषणा गरेको थियो भने जेलेन्स्कीले क्राइमिया फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गर्दै आउनु भएको छ । क्राइमिया रुसलाई छाड्न तयार रहेको भन्ने ट्रम्पको दावीप्रति जेलेन्स्कीका तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

यसअघि, मार्चमा अमेरिकाले राखेको ३० दिने आंशिक युद्धविरामको प्रस्तावमा युक्रेनले सहमति जनाए पनि मस्कोले भने विभिन्न शर्त राख्दै अस्वीकार गरेको थियो ।

यसैबीच, उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धमा रुसलाई सघाउन आफ्नो सेना पठाएको कुरा ‌‌पहिलो पटक औपचारिक रुपमा पुष्टि गरेको छ ।