यमनको हुथी नियन्त्रित एक हिरासतमा अमेरिकाले हवाइ आक्रमण गर्दा ६८ जनाको मृत्यु

वैशाख १५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
यमनको हुथी नियन्त्रित एक हिरासतमा अमेरिकाले हवाइ आक्रमण गर्दा ६८ जनाको मृत्यु

काठमाडौं । अमेरिकाले यमनको हुथी विद्रोही नियन्त्रित उत्तरपश्चिमी क्षेत्रमा रहेको अफ्रिकी आप्रवासी हिरासत केन्द्रमा गरेको हवाई आक्रमणमा कम्तिमा ६८ जना मारिएका छन् ।

हुथीद्वारा सञ्चालित अल मसिराह टीभीले उक्त आक्रमणमा अन्य ४७ जना घाइते भएको र तीमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

यद्यपि यसको केही घण्टा अघिमात्रै अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले राष्ट्रपति डनल्ड ट्रम्पले गत मार्च १५ मा हुथीविरुद्ध हवाई कारवाही तीव्र पार्न आदेश दिएयता हुथीका आठ सयभन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको थियो । ती आक्रमणमा सयौं हुथी लडाकुका साथै थुप्रै नेताहरु मारिएको सेन्ट्रल कमाण्डले जनाएको थियो । 

यसै महिनाको प्रारम्भमा अमेरिकाले यमनको रेड सीको तटीय क्षेत्रमा अवस्थित रास इसा इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा कम्तिमा ७४ जना मारिनुका साथै अन्य एक सय ७१ जना घाइते भएका थिए । 

गत महिना ट्रम्पले हुथी नियन्त्रित क्षेत्रमा व्यापक आक्रमण गर्न आदेश दिनुका साथै उनीहरुलाई पूर्ण रुपमा समाप्त पार्ने चेतावनी दिनुभएको थियो । यसका साथै उहाँले हुथी विद्रोहीलाई हतियार आपूर्ति नगर्न इरानलाई समेत चेतावनी दिनुभएको थियो ।

२०२३ को अक्टोबरमा इजरायल-हमास युद्ध शुरु भएयता हुथी विद्रोहीले "रेड सी" र "गल्फ अफ आदेन" हुँदै ओहोरदोहोर गर्ने दर्जनौं व्यापारिक जहाजमा क्षेप्यास्त्र, ड्रोन र डुंगाबाट व्यापक आक्रमण गर्दै आएको छ । हुथी विद्रोहीले इजरायल-हमास युद्धमा प्यालेष्टिनीको पक्षमा आफूहरुले आक्रमण गर्ने गरेको र इजरायल, अमेरिका र बेलायत सम्बद्ध व्यापारिक जहाजलाई मात्र लक्ष्य बनाउने गरेको दाबी गर्दै आएका छन् ।