काठमाडौं । क्यानडामा आज संसदीय निर्वाचनका लागि मतदान हुँदैछ ।
अमेरिकासँग व्यापार युद्धको अवस्था रहेको र राष्ट्रपति डनल्ड ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ राज्य बनाउने धम्की दिइरहेको पृष्ठभूमिमा भइरहेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
गठबन्धन सरकारको नेतृत्व गर्दै आउनु भएका तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएपछि मार्च १४ मा प्रधानमन्त्रीको पद सम्हाल्नु भएका मार्क कार्नीले ९ दिनपछि नयाँ निर्वाचनको घोषणा गर्नुभएको थियो । ट्रम्पद्वारा सिर्जित खतराको सामना गर्न आफूलाई बलियो जनसमर्थन चाहिएको भन्दै कार्नीले समयअगावै निर्वाचनमा जान चाहेको बताउनुभएको थियो ।
सत्तारुढ लिबरल पार्टीका नेता कार्नीका सामु कन्जरभेटिभ पार्टीका नेता पियरे प्वाइलिभ्रे कडा प्रतिष्पर्धीका रुपमा देखा परेको जनाइएको छ । २०२३ को मध्यदेखि नै राष्ट्रिय मत सर्वेक्षणमा पियरेको कन्जरभेटिभ पार्टी कार्नीको लिबरल पार्टीभन्दा अगाडि देखिँदै आए पनि ट्रम्पको आयात कर घोषणा र ५१औं राज्य बनाउने धम्कीपछि लिबरल पार्टीको लोकप्रियता बढेर गएको थियो ।
निर्वाचनअघि गरिएका मत सर्वेक्षणमा लिबरल पार्टी झिनो अन्तरले अघि रहे पनि दुवै दलबीचको प्रतिस्पर्धा भने कडा रहेको देखाएका छन् ।
प्रमुख दुई दल लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा रहँदा साना दलहरु भने आफ्नो मत बढाउने संघर्ष गरिरहेका छन् ।
वामपन्थी झुकावको जगमीत सिंह नेतृत्वको न्यू डेमोक्र्याटिक पार्टी एनडीपी पृथकतावादी दल ब्लक क्युबेक्वाइसभन्दा पछाडि रहेकाले यसले थुप्रै सिट गुमाउन सक्ने प्रक्षेपण गरिएको छ ।
संसदको तल्लो सदन हाउस अफ कमन्सका ३ सय ४३ सिटका लागि मतदान हुन लागेको हो । बहुमतका लागि कम्तिमा १ सय ७२ सिट जित्नु आवश्यक हुन्छ । स्थानीय समयअनुसार बिहान साढे ८ बजेदेखि मतदान शुरु हुनेछ । ४ करोडभन्दाबढी जनसंख्या भएको क्यानडामा २ करोड ८९ लाख योग्य मतदाता छन् भने ७३ लाखले अग्रिम मतदान गरिसकेका छन् ।